सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल चढेको हेलिकोप्टर रुकुम पश्चिमको आठबिसकोटमा आकस्मिक अवतरण भएको छ । आइतबार दिउँसो ३ः२५ बजे आठबिसकोट नगरपालिका ९ राडिस्थित रङ्गशालामा हेलिकोप्टर अवतरण भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार डोल्पाबाट सुर्खेतका लागि उडेको हेलिकोप्टर खराब मौसमका कारण आकस्मिक अवतरण भएको हो । सिम्रिक एयरको (कलसाईन नाईन एन–एकेडी) हेलिकोप्टर आकस्मिक अवतरण भएको हो ।
उक्त हेलिकोप्टरमा मुख्यमन्त्री कँडेलसहित पाँच जना रहेको बताइएको छ । हेलिकोप्टरमा मुख्यमन्त्री कँडेलकी श्रीमती, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकाय, सुरक्षा गार्ड र चालक सवार थिए ।
लगातार वर्षा भएर मौसम खराब बन्दा हेलिकोप्टर आकस्मिक अवतरण भएको प्रहरीको भनाइ छ । अहिले मुख्यमन्त्रीसहितको उक्त टोली आठबिसकोट नगरपालिकाको राडि बजारमा रहेको एक होटेलमा सुरक्षित रुपमा छ । मौसममा सुधार आएमा आजै उनीहरु सुर्खेततर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।
डोल्पामा सञ्चालित एक मेलाको अवलोकन र पवित्र धार्मिकस्थल त्रिपरासुन्दरी मन्दिर दर्शनका लागि उनी डोल्पा गएका हुन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार