Listen LIVE

मधेशमा नयाँ सरकार गठनका लागि परामर्शमा प्रदेश प्रमुख

जनकपुरधाम : मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सुमित्रा भण्डारीले परामर्श सुरु गरेकी छन् । विभिन्न राजनीतिक दल र संविधानविदसँग उनी परामर्शमा छिन् ।

आइतबार कांग्रेस संसदीय दलका नेता कृष्णाप्रसाद यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल र कार्यवाहक मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) सँग उनले छलफल गरिन् । सोनल समर्थित दलहरुले संविधानको धारा १६८ को (२) बमोजिम नै नयाँ सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेका थिए । सोनलले यो धारा पूर्ण रुपमा कार्यन्वयन नभएको, आफूले विश्वासको मत नगुमाएको हुनाले सोही धारा आकर्षित गर्नुपर्ने तर्क गरेका छन् ।

एमालेले उक्त धारा फेल भइसकेका कारण अर्को धारामा जानुपर्ने प्रदेश प्रमुख समक्ष अनुरोध गरेका छन् । प्रदेश प्रमुख कार्यालयका कानुन अधिकृत सत्रुधन यादवले अहिले अन्योलको अवस्था रहेको बताए । प्रदेश प्रमुखले परामर्श गरिरहेको र कानुनअनुसार सरकार गठनका लागि आहृवान गर्ने उनले बताए ।

प्रदेशसभामा विश्वासको मत लिने प्रक्रिया सुरु हुनुअघि शनिबार साँझ सोनलले पदबाट राजीनामा दिएका हुन् । गएको असोज २९ गते ५६ सांसदको समर्थनमा सोनल मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । तर, विश्वासको मत लिने दिन सत्तासाझेदार दलकै नेताहरुको विद्रोह र अनुपस्थितिले सोनल राजीनामा दिन बाध्य भएका थिए ।

प्रतिक्रिया