नेपालगञ्ज : राप्तीसोनारी गाउँपालिका क्षेत्रभित्र सञ्चालित क्रसर उद्योगहरूलाई मौज्दात प्रमाणित गर्न तेस्रो पटक पत्र काटेर ताकेता गरिएको छ ।
उद्योगमा रहेको ढुङ्गा गिट्टी र बालुवाको मौज्दात प्रमाणित गराउन अटेरी गर्ने उद्योगहरूलाई यसअघि दुई पटक पत्र काटेर उद्योगहरूमा रहेका ढुङ्गा गिट्टी र बालुवाको मौज्दात प्रमाणित गराउन जानकारी गराउँदा उद्योगहरूले मौज्दात प्रमाणित नगराई अटेरी गरेकोले तेस्रो पटक पत्र काटेर ताकेता गरिएको राप्ती सोनारी गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले सार्वजनिक सूचना प्रकाशित गरेर यसअघि पटकपटक ताकेता गर्दा पनि मौज्दात प्रमाणितका लागि क्रसर उद्योगहरूले चासो नदिएपछि तेस्रोपटक पत्र काटिएको जनाए । यसअघि असार २ गते र असार ७ गते छुट्टाछुट्टै पत्र पठाएको भए पनि विवरण दर्ता गर्न उद्योगहरू नआएकोले तेस्रो पटक पत्र काटिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऐडीले बताए ।
“यस कार्यालयको मिति २०८१–०३–०२ को च नं ३१०५ र २०८१–०३–०७ को च नं ३१४५ को पत्र प्राप्त गर्नुभएकै होला,“ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऐडीद्वारा जारी सूचनामा भनिएको छ, “उक्त पत्रबाट माग गरिएको ढाँचामा हालसम्म मौज्दात प्रमाणितका लागि विवरण प्राप्त हुन नआएकाले अविलम्ब यस कार्यालयमा आ–आफ्नो उद्योगको विवरण अनिवार्य पठाउनुहुन सम्बन्धित सबै क्रसर उद्योगहरूलाई पुनः जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।“
गाउँपालिकाले यसअघि पठाइएका दुई पत्रको चलानी नम्बर समेत उल्लेख गरेर तेस्रो पटक असार ११ गते अर्को सूचना जारी गरिएको गाउँपालिकाले जनाएको छ । तेस्रो पटक सूचना जारी भएपछि केही क्रसर उद्योगहरूले विवरण पठाएको र धेरैले अझै कुनै चासो नलिएको प्रमुख प्रशासकीय अधिकृत ऐडीले बताए । उनले तेस्रो पटक पनि अटेरी गरेपछि त्यस्तो गर्ने उद्योगहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन बाध्य हुने बताए ।
राप्तीसोनारी गाउँपालिका क्षेत्रमा पर्ने अधिकांश क्रसर उद्योगले मनपरी तरिकाले तोकिएको भन्दामा बढी नदीजन्य पदार्थ उत्खनन् गरिरहेको, मापदण्ड विपरीत पनि उत्खनन् गरिरहेको र सोही प्रकारले ओसारपसार समेत गरिरहेको आरोप पटक पटक लाग्ने गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार