नेपालगञ्ज : नेपालगञ्जस्थित अस्पतालमा बन्द रहेका विभिन्न सेवाहरू पुनः सञ्चालन गर्ने र अपुग जनशक्ति व्यवस्थापन, उपकरण थप तथा पूर्वाधार सुदृढीकरणलाई विशेष प्राथमिकतामा राखिएको अस्पताल प्रशासनले जनाएको छ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट -मेसु) डा. नवीन दर्नालका अनुसार विगतमा विभिन्न कारणले बन्द रहेका सेवाहरू पुनः पूर्ण रूपमा सञ्चालन गर्ने तथा नयाँ सेवा थप्दै अस्पताललाई क्षेत्रीय स्तरको सुविधासम्पन्न स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने लक्ष्यका साथ योजनाबद्ध रूपमा काम अघि बढाइएको छ।
उनले सेवा विस्तार, जनशक्ति व्यवस्थापन, उपकरण थप तथा पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राख्दै अस्पताललाई पश्चिम नेपालकै सबैभन्दा सुविधासम्पन्न अस्पताल बनाउने प्रयास भइरहेको बताए।
डा. दर्नालले भने, 'लामो समयदेखि बन्द रहेको सिटी स्क्यान सेवालाई चालु आर्थिक वर्षभित्रै पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको छ। पुरानो मेसिन भएकाले मर्मतमा अपेक्षाकृत बढी खर्च लाग्ने र मर्मतपछि पनि पुनः बिग्रिने जोखिम रहेकाले मितव्ययितालाई ध्यानमा राख्दै आवश्यक मर्मत प्रक्रिया अघि बढाइनेछ।'
उनका अनुसार स्वास्थ्य मन्त्री तथा स्वास्थ्य सचिवसँग भेट गरी अस्पतालका लागि आवश्यक उपकरण, जनशक्ति र पूर्वाधार व्यवस्थापनका विषयमा ध्यानाकर्षण गराइएको छ।
अस्पतालको सेवा विस्तारका लागि आवश्यक उपकरण तथा जनशक्ति उपलब्ध गराइदिन मन्त्रालयसमक्ष आग्रह गरिएको उनले बताए।
अस्पतालले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग आवश्यक जनशक्ति र स्रोतसाधनको माग गरेको छ। छात्रवृत्ति करारमा कार्यरत चिकित्सकहरूको करार अवधि समाप्त भएका विभागहरूमा नयाँ चिकित्सकको माग गरिएको अस्पतालले जनाएको छ।
त्यसैगरी मानसिक रोग, नेत्ररोग, प्रसूति तथा स्त्रीरोगलगायत विभिन्न विभागमा विशेषज्ञ चिकित्सकको आवश्यकता रहेको भन्दै मन्त्रालयमा माग पठाइएको भेरी अस्पताल विकास समितिले जनाएको छ।
अस्पताल विकास समितिका सदस्य डा. डक्टप्रसाद धितालका अनुसार विशेषज्ञ चिकित्सकसँगै एमबीबीएस चिकित्सकको समेत थप आवश्यकता रहेकोले सोहीअनुसार माग गरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार