Listen LIVE

मौसम फेरिएसँगै बाँकेका अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप

नेपालगञ्ज : केही दिनअघि भएको अत्यधिक गर्मी र त्यसपछि परेको वर्षाका कारण मौसम परिवर्तन भएसँगै बाँकेमा रुघाखोकी र ज्वरोका बिरामी बढ्दै गएका छन् । केही दिनअघिसम्म रहेको अत्यधिक उष्णता र त्यसपछि भएको वर्षाका कारण जिल्लामा ज्वरो, रुघाखोकी, निमोनिया तथा झाडापखालाका बिरामीको सङ्ख्या बढेको अस्पतालहरूले जनाएका छन् ।

भेरी अस्पतालका सूचना अधिकारी एवं वरिष्ठ फिजिसियन डा. सङ्केतकुमार रिसालका अनुसार उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्नेलगायतका लक्षण भएका बिरामी अहिले अस्पतालमा बढी आउने गरेका छन् । अस्पतालको इमर्जेन्सीमा यस्ता बिरामीको सङ्ख्या धेरै रहेको जनाउँदै उनले ओपिडीमा पनि भाइरल फ्लुका बिरामी ठुलो सङ्ख्यामा आइरहेको बताए ।

सोही कारण अहिले अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको भेरी अस्पतालले जनाएको छ ।

यसैगरी, नेपालगञ्जस्थित सञ्जीवनी अस्पतालले पनि पछिल्लो समय मौसममा आएको परिवर्तनका कारण भाइरल फ्लुका बिरामी उपचारका लागि अस्पताल आउने क्रम बढेको जनाएको छ ।

सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोमन किदवईले पछिल्लो समय रुघाखोकी, ज्वरो र पखालालगायतका समस्या भएका बिरामी उपचारका लागि आउने क्रम बढ्दै गएको बताए ।

हाल देखिएको भाइरल ज्वरो निको हुन सात दिनभन्दा बढी समय लाग्ने र ज्वरो पनि निकै कडा खालको हुने गरेको सुपर पोलिक्लिनिकका वरिष्ठ फिजिसियन डा. अल्ताफान राहीले बताए । उनले समयमै उपचार सुरु गर्न सुझाव दिए ।

यसैगरी, नेपालगञ्जका अन्य अस्पतालमा पनि मौसम परिवर्तनका कारण भाइरल सङ्क्रमण भई उच्च ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने र घाँटी दुख्नेजस्ता समस्या भएका बिरामीको सङ्ख्या बढेको ती अस्पतालहरूले जनाएका छन् ।

चिकित्सकका निजी क्लिनिकमा पनि केही दिनयता भाइरल ज्वरो, रुघाखोकी, निमोनिया तथा झाडापखालाका बिरामी आउने क्रम बढेको चिकित्सकहरूले बताएका छन् । मौसम परिवर्तन, दूषित पानी तथा खानपानमा उचित ध्यान नपु¥याउँदा बिरामीको सङ्ख्या बढेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया