Listen LIVE

गाउँमै चौबीसै घण्टा स्वास्थ्य सेवा, स्थानीयलाई राहत

राप्तीसोनारी (बाँके) : बाँकेको राप्तीसोनारी गाउँपालिका–४ बैजापुरमा राप्तीसोनारी अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीले गाउँमै चौबीसै घण्टा स्वास्थ्य सेवा पाउन थालेका छन् ।

यसअघि सामान्य बिरामी पर्दासमेत कोहलपुर र नेपालगञ्ज पुग्नुपर्ने बाध्यता थियो। विशेषगरी रातको समयमा सवारीसाधन खोज्नुपर्ने, लामो दूरी पार गर्नुपर्ने र समयमै उपचार नपाउने जोखिम स्थानीयले भोग्दै आएका थिए । प्रसूति सेवाका लागि महिलाले समेत घण्टौँ यात्रा गर्नुपर्ने अवस्था थियो ।

भदौ १ गतेदेखि सञ्चालनमा आएको अस्पतालले हाल एक जना चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मीबाट आकस्मिक र नियमित उपचार सेवा दिइरहेको छ ।

अस्पतालमा सामान्य उपचार, आकस्मिक सेवा, प्रसूति तथा बाल स्वास्थ्य सेवामा प्राथमिकता दिइएको छ । गाउँमै अस्पताल सञ्चालन भएपछि स्थानीयवासीमा तत्काल उपचार पाउने आशा बढेको छ ।

गाउँपालिकाका अनुसार आगामी असोजदेखि प्रसूतिको शल्यक्रियासहित केही अन्य शल्यक्रिया सेवा विस्तार गर्ने तयारी भइरहेको छ ।

यस्तै, विशेषज्ञ सेवा गाउँमै उपलब्ध गराउन भेरी अस्पतालसँग सहकार्य गर्ने तयारी गरिएको छ । सहकार्यअन्तर्गत भेरी अस्पतालका विशेषज्ञ चिकित्सकलाई मासिक रूपमा राप्तीसोनारी अस्पतालमा ल्याएर सेवा दिने योजना छ ।

गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले अस्पताल सञ्चालन गर्नु पहिलो चरण भएकाले अब सेवा विस्तार र गुणस्तर सुधारलाई प्राथमिकता दिइने बताए । जनशक्ति, उपकरण र आवश्यक पूर्वाधार क्रमशः थप गर्दै स्थानीयलाई भरपर्दो स्वास्थ्य सेवा दिने उनको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले अस्पताललाई प्रभावकारी र दिगो रूपमा सञ्चालन गर्न आवश्यक जनशक्ति, औषधि र उपकरण व्यवस्थापनलाई प्राथमिकता दिइएको बताए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर ४ का वडाध्यक्ष मिनराज खड्काले अस्पताललाई नाम मात्रको स्वास्थ्य संस्था नभई प्रभावकारी सेवा दिने संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

ग्रामीण क्षेत्रमा सर्पदंश, दुर्घटना, आकस्मिक बिरामी तथा प्रसूतिको समयमा देखिने जटिल अवस्थामा समयमै उपचार पाउनु महत्वपूर्ण हुन्छ । त्यसैले राप्तीसोनारीमा चौबीसै घण्टा अस्पताल सेवा सुरु हुनु स्थानीय स्वास्थ्य सेवाको पहुँच विस्तारतर्फ महत्वपूर्ण सुरुवात मानिएको छ ।

अस्पतालमा आवश्यक जनशक्ति, औषधि र उपकरणको नियमित उपलब्धता तथा विशेषज्ञ सेवा प्रभावकारी बनाउन सके स्थानीयवासीले उपचारका लागि टाढा जानुपर्ने बाध्यता घट्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया