Listen LIVE

बङ्गलादेशमा रहेका नेपालीबारे परराष्ट्रमन्त्री राणाको चासो

काठमाण्डौ : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले शुक्रबार बङ्गलादेशस्थित नेपाली राजदूत घनश्याम भण्डारीसँग त्यहाँ विकसित पछिल्लो घटनाक्रम र नेपाली विद्यार्थीको अवस्थाबारेमा जानकारी लिएकी छिन्।

मन्त्री डा राणाले राजदूत भण्डारीलाई टेलिफोन सम्पर्कगरी त्यहाँ रहेका नेपाली विद्यार्थी एवं अन्य नेपाली नागरिकको अवस्थाका बारेमा जानकारी लिएकी हुन् । त्यसक्रममा उनले नेपालीहरूलाई कुनै अप्ठ्यारो हुन नदिन र सुरक्षित तवरले आ–आफ्ना स्थानमा रहने वातावरणका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएको परराष्ट्रमन्त्री डा राणाको सचिवालयले जनाएको छ।

राजदूत भण्डारीले त्यहाँ सबै नेपाली सुरक्षित रहेका र उनीहरुलाई सुरक्षित रहन, अत्यावश्यक कामबाहेक आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आफ्ना क्याम्पस प्रशासनको निर्देशन पालना गर्न सूचित गरिएको जानकारी गराएका थिए।

यस्तै त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कुनै अप्ठ्यारो परेमा सम्पर्कका लागि दूतावासका दुई जना अधिकारीको सम्पर्क नम्बर दिइएको तथा नेपाली विद्यार्थी अध्ययन गर्ने कलेज प्रशासनसँग दूतावास निरन्तर सम्पर्कमा रहेको जानकारी राजदूत भण्डारीले दिए।

बङ्गलादेशमा केही दिन यतादेखि विद्यार्थीहरूले सडक प्रदर्शन गरिरहेका छन् । सरकारी कोटाका विषयमा चर्किएको प्रदर्शमा हालसम्म २५ जनाको मृत्यु भइसकेको छ भने सयौं घाइते भएका छन्।

प्रतिक्रिया