Listen LIVE

घाम लागेपछि बाँकेमा जाडोबाट राहत

नेपालगञ्ज : पुसको पहिलो सातादेखि चलिरहेको शीतलहरका कारण अत्यधिक चिसोले अस्तव्यस्त बनेको नेपालगन्जमा आइतबार बिहानैबाट पारिलो घाम लाग्दा धेरैले चिसोबाट राहात महसुस गरेका छन् । 

शीतलहर, कुहिरो र हुस्सुका कारण अतिनै पिडित बनेका स्थानीयले धेरै दिनपछि घाम लागेपछि अतिनै राहत भएको प्रतिक्रिया दिएका हुन् । 

नागरिक समाजका अगुवा तथा स्थानीय व्यापारी कृष्णप्रसाद श्रेष्ठले करिब १५ वर्षपछि नेपालगन्जका यस पटक यति धेरै चिसो भएको जनाउँदै चिसोले गर्दा धेरैजना बिरामी परेको तथा जनजीवननै ठप्प भएको बेला आइतबार बिहानैबाट राम्रो घाम लाग्दा धेरैलाई राहात भएको बताए । उनले विशेषगरी वृद्धवृद्धा र बालबालिकालाई चिसोले अतिनै समस्यामा पारेको जनाउँदै अहिले घाम लाग्दा उनिहरूलाई बढी राहात मिलेको बताए । 

यस्तै नेपालगञ्ज–११, इदगाह रोडका स्थानीय रिजवान कुरैशीले तीन साताजति घाम नलाग्दा चिसो र जाडोले अतिनै समस्या पारेको बेला घाम लागेपछि यहाँको जनजीवन चलायमान बनेको बताए । उनले घाम लागेपछि अधिकांशले लुगा धुनुका साथै नुहाउने काम पनि गरेको बताए ।  

नेपालगञ्ज–५ का निर्मला श्रेष्ठले धेरै दिनपछि आइतबार घाम लागेकोले लुगा धुने तथा बालबालिकालाई नुहाउने काम गरेको बताउँदै यस पटक धेरै वर्षपछि यति धेरै जाडो भएको बताइन् । 

नेपालगञ्ज र सो वरिपरि पारिलो घाम लागेकोले अहिले अधिकांश स्थानीयले घाम ताप्ने काम गरिरहेका छन् । उता, चिसोले गर्दा बिरामीहरू फेरि ठुलो सङ्ख्यामा बढेको विभिन्न अस्पताल तथा चिकित्सकहरूले जनाएका छन् । 

भेरी अस्पताल नेपालगञ्जका सुचना अधिकारी डा. सङ्केतकुमार रिसालले चिसो अत्यधिक भएपछि पछिल्लो समय बालबालिका र वृद्धवृद्धाहरू बिरामी भएर अस्पताल आउने क्रम धेरै बढेको बताए । उनले अस्पताल आउनेहरू मध्ये अधिकांशलाई ज्वरो, खोकी, कोल्ड डायरिया र निमोनिया भएको पाइएको जनाउँदै अझै जाडो केही दिन रहने हुँदा सचेत रहन सर्वसाधारणलाई आग्रह गरे ।

प्रतिक्रिया