Listen LIVE

देश बनाउने र जलाउनेबीचको फरक बुझ्नुस् : इश्तियाक राई

नेपालगञ्ज : बाँके निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले देश बनाउने र देश खरानी बनाउनेबीचको भेद बुझ्न मतदाताहरूसमक्ष आग्रह गरेका छन् । वडा नं २० मा आयोजित निर्वाचन केन्द्रित कार्यक्रममा उम्मेदवार राईले भदौ २४ गते देशका धरोहर र सरकारी संरचनाहरू जलाउनेलाई कहिल्यै माफी हुन नसक्ने भनाई राखे ।

‘म मैले यो–यो बनाएँ भनेर आउँदैछु । कोही देश खरानी बनाएँ भनेर आउँदैछन् । तपाइँ मतदाताहरू सचेत हुनुस् । दल र नेताहरूप्रति आक्रोश थियो भने आफैं फेरि किन दल खोलेर नेता बन्न आएको ? सोध्नुस्’, एमालेका उम्मेदवार राईले भने, ‘नेताहरूसँगको आक्रोशको बदलामा सरकारी संरचना र धरोहर जलाउनेहरूलाई माफ गर्न सकिन्न ।’

बाँकेमा मालपोत, राजश्व, भन्सार लगायतका सरकारी संरचना  ध्वस्त पारिँदा गरिबले सबैभन्दा धेरै दुख पाइरहेको पनि राईले बताए । ‘नगरपालिका, भन्सार, राजश्व कार्यालय अनि मालपोत लगायतका संरचना जलाइँदा अहिले सबैभन्दा धेरै गरिबहरूले दुःख पाइरहेका छन् । लालपुर्जाको श्रेष्ता कायम गराउन ५ हजार रूपैयाँ तिर्नुपरिरहेको छ ।’, राईले भने, ‘राजश्व उठाउने संरचनाहरू ध्वस्त पारेर देश चलाउन चाहिने पैसा कहाँबाट आउँछ ?’

राईले वडा नं २० मा रहेका सुकुम्बासीहरूलाई लालपुर्जा दिने प्रक्रिया अघि बढेको र निर्वाचन लगत्तै त्यो पूरा हुने आश्वासन पनि दिए । नेपालगञ्जको सबैभन्दा ठूलो वडा नं २० लाई राम्रो र सुविधायुक्त बनाउने प्रतिबद्धता जनाएका राईले नयाँ निर्माण गरिने भौतिक संरचनाहरूले स्थानीयस्तरमै रोजगारीको सृजना गर्नसक्ने गरी योजनाहरू अघि सार्न आफू तत्पर रहेको बताए ।

राईले नं. २० का मतदाताहरूसँग घरघरै पुगेर भेटघाट पनि गरेका थिए ।

प्रतिक्रिया