नेपालगञ्ज : धार्मिक आस्था र पौराणिक कथामा आधारित रामलीला हेर्न नेपालगञ्जस्थित रामलीला मैदानमा सयौँ दर्शक मध्यरातसम्म सहभागी हुने गर्छन् । नेपालगञ्जको ऐतिहासिक सांस्कृतिक पहिचानका रूपमा स्थापित रामलीलाको १५९औँ संस्करण आइतबारदेखि सुरु भएको हो ।
दसैँको अवसरमा आयोजना हुने रामलीलाले धार्मिक आस्था र सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै सामाजिक सद्भाव तथा आपसी एकताको सन्देश प्रवाह गर्ने गरेको छ ।
रामलीला हेर्न बालकदेखि वृद्धसम्मको उपस्थिति हुन्छ । युवा पुस्ता पनि रामलीला हेर्न पुग्छन् । दिनभरि काम गरी थाकेका मजदुर हुन् या घरमा बिदा मनाइरहेका परिवार, सबै मिलेर रामलीला हेर्न मैदान पुग्छन् । रातमा पनि रामलीला मैदानभरि चहलपहल हुन्छ ।
सत्यमाथि असत्यमाथिको विजयको प्रतीकका रूपमा मनाइने दसैँको घटस्थापनादेखि विजयादशमीसम्म रामलीला प्रदर्शन गरिन्छ । हरेक राति ८ बजेदेखि मध्यराति १२ बजेसम्म सञ्चालन हुने मञ्चन हेर्न नेपालगञ्जवासीको उल्लेख्य सहभागिता रहने गरेको छ ।
'हामीजस्ता युवालाई यो नयाँ र रोचक परम्परा हो । हामीले सुन्दै आएको कथा प्रत्यक्ष नाटकमार्फत हेर्ने मौका पाएका छौँ,' नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटीनगरकी ओशीन सुनारले भनिन्, 'पक्कै पनि हाम्रो जीवनमा चाहिने सन्देश यसले बोकेको छ ।'
यस वर्षको रामलीला मञ्चनका लागि भारतको वृन्दावनबाट राधा रमणको नेतृत्वमा २५ सदस्यीय कलाकार टोली नेपालगञ्ज आएको छ । टोलीले भगवान् राम, सीता, लक्ष्मण, हनुमान र रावणलगायतका पात्रको भूमिका निर्वाह गर्दै रामलीला मञ्चन सुरु गरेको हो ।
ऐतिहासिक रामलीला नेपालगञ्जको धार्मिक र सांस्कृतिक पहिचानका रूपमा स्थापित छ । रामलीलाको १५९औँ शृंखला यस वर्ष घटस्थापनादेखि मञ्चन भएको थियो । नेपालगन्जस्थित रामलीला मैदानमा असोज २५ गते घटस्थापनाका दिनदेखि दस दिनसम्म मञ्चन गरिन्छ ।
लामो समयदेखि निरन्तर सञ्चालन हुँदै आएको रामलीलाले नेपालगञ्जको सांस्कृतिक विरासतलाई जीवन्त राख्नुका साथै विभिन्न समुदायबीच सद्भाव र सहअस्तित्वको भावना अभिवृद्धि गर्न योगदान पु¥याउँदै आएको छ । 'यो एउटा परम्परा मात्र होइन । यसले समाजमा सद्भाव कायम राख्न पनि सहयोग गरेको छ,' व्यवसायी नन्दलाल वैश्यले भने ।
नेपालगञ्जको पहिचान, संस्कृति र अस्तित्वसँग रामलीला मञ्चन जोडिएकोले निरन्तर सञ्चालनमा ल्याइएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिए ।
'रामलीला नेपालगञ्जको संस्कृति र पहिचानसँग जोडिएको परम्परा हो । परिस्थितिका कारण एक वर्ष नियमित मञ्चन प्रभावित भए पनि यसको निरन्तरता रोक्नु हुँदैन भन्ने उद्देश्यले यस वर्ष रामलीला अघि बढाइएको हो,' अध्यक्ष कनोडियाले भने, 'यसले दसैँमा थप रौनक बढाउँछ ।'
उनका अनुसार रामलीलामा भगवान् राम र सीताको जीवनीसँग सम्बन्धित विभिन्न प्रसंग तथा कथालाई नाटकीय शैलीमा प्रस्तुत गरिन्छ । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस कार्यक्रमले नेपालगञ्जमा दसैँको छुट्टै सांस्कृतिक वातावरण निर्माण गर्दै आएको छ ।
भारतको वृन्दावनबाट आउने कलाकार टोलीले विभिन्न पात्रको भूमिका निर्वाह गर्दै रामायणका प्रमुख प्रसंगलाई रंगमञ्चमार्फत प्रस्तुत गर्नेछ ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले रामलीला नेपालगञ्जको ऐतिहासिक पहिचान भएको उल्लेख गरे । उनले विविध समुदायबीच सामाजिक सद्भाव र आपसी एकता कायम गर्न यस्ता सांस्कृतिक महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जिल्लावासीको सामूहिक प्रयासबाट सामाजिक सद्भाव कायम राख्न सकिने विश्वास व्यक्त गरे ।
धनुष यज्ञ, रावणवध, भरत मिलाप र भगवान् रामको राज्याभिषेकजस्ता महत्त्वपूर्ण प्रसंगको मञ्चनसँगै महोत्सव समापन हुने गर्छ ।
दसैँको बेला १५८ वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको रामलीला गत वर्ष जेनजी आन्दोलनका कारण शान्ति सुरक्षालगायतको अवस्थालाई दृष्टिगत गरेर मञ्चन हुन नसके पनि रावण दहन भने गरिएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार