काठमाण्डौ : कुनै पनि निर्वाचनमा जित र हारका लागि एक मतको मूल्य अत्यधिक रहन्छ । निर्वाचन आयोगले हरेक पल्ट भएका मतदानमा पाँचदेखि १५ प्रतिशतसम्म मत बदर भएर खेर गयो भन्ने तथ्य दिने गरेको छ । आयोगले देशैभर मतदाता शिक्षा दिने तयारी थालेको छ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा मतदातामा भने मत कसरी नबिगारी दिने भन्ने चिन्ता बढेको छ ।
आयोगले फागुन ३ गतेदेखि देशव्यापी रूपमा मतदाता शिक्षाको सुरुवात गर्ने गरी कार्यसूची अघि बढाएको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । निर्वाचन आयोगले मतदाता शिक्षा दिँदा पहिलेको तुलनामा बदरमत हरेक प्रदेश र जिल्लामा कम आओस् भनेर चाहेको प्रवक्ता भट्टराई औँल्याउँछन् ।
जस अनुसार आयोगले देशका ७७ जिल्लाका जिल्ला निर्वाचन कार्यालयलाई मतदाता शिक्षाका लागि स्वयंसेवक नियुक्ति र मतदाता शिक्षा अनुगमनकर्ता नियुक्त गर्न भनिसकेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताउनुभयो । उनका अनुसार आयोगको कार्यसूचीमा आयोगले गर्नुपर्ने अधिकांश काम कम हुँदै गएको छ । जिल्ला निर्वाचन कार्यालयले गर्नुपर्ने काम भने बढ्दै छ ।
उनले भने, “यो पटक हामीले डिजिटल मतदाता शिक्षालाई जोड दिएका छौँ, पहिले त्यो तालिम स्वयंसेवकले लिन्छन् र त्यसपछि मतदाताका घरदैलो पुगेर डिजिटल माध्यमबाटै सिकाउँछन् ।”
सिकाउने क्रममा हातहातमा रहेका मोबाइल फोनको उच्चतम प्रविधिको प्रयोगको शिक्षासँगै कसरी आयोगले जारी गरेको सिकाइयुक्त सूचनामा पहुँच पु¥याउने भन्ने कुरा मतदाताका लागि यस पटक नयाँ हुने भएको छ । यस डिजिटल सिकाइले आयोगमा आमनागरिकको आबद्धतासँगै अपनत्वको भाव बढाउने उद्देश्य पनि रहेको घिमिरेले प्रस्ट पारे । न्यून कागजपत्रको प्रयोग गरेर वातावरणमैत्री निर्वाचन गराउने अभिप्राय अनुसार आयोगले जिल्ला निर्वाचन कार्यालयलाई त्यही अनुसार तयार पारेको छ ।
उनले थपे, “स्वयंसेवकसँग एउटा नमुना मतपत्र भने रहन्छ, जसका चुनाव चिह्नमा कसरी स्वस्तिक छाप लगाउने, कसरी पट्याउने र कसरी दुई वटा बाकसमा छुट्टाछुट्टै खसाल्ने भनेर सिकाउँछ ।” बाँकी काम आयोगले आफ्नो फेसबुक, एक्स, टिकटकलगायतका सामाजिक सञ्जालका पेजमा गएर सिक्ने र सिकाउने उपाय मोबाइलबाटै जोडिएर आफू र समुदायलाई सिकाउने छन् ।
कतिपय जिल्लाले आफ्नो क्षेत्रका मतदातालाई शिक्षित बनाउने योजना पनि बनाएका छन् । सोलुखुम्बुका जिल्ला निर्वाचन अधिकारी दीपेन्द्रमान अधिकारीका अनुसार २२ वटै वडाका स्वयंसेवीले सिकाउने कुराबाहेक स्थानीय एफएम, रेडियो, अनलाइन मिडिया तथा पत्रपत्रिकालाई पनि निर्वाचन शिक्षामा सँगै लैजाने योजना छ ।
उनले भने, “हाम्रो क्षेत्र भनेको एउटा डाँडामा एउटा घर भए अर्को डाँडामा अर्को घर वा गाउँ हुन्छ, त्यस्तोमा हिँडेर घर घर पुगेर १५्र दिनमा मतदातालाई सबै कुरा सिकाउन सम्भव नहुन पनि सक्छ ।” त्यसैले कुनै एक ठाउँमा भेला गराएर मतदातालाई मतदान गर्ने शिक्षा दिने र घर घरमै रेडियो र अनलाइनमार्फत मतदान कसरी गर्ने भनेर बारम्बार सूचनामार्फत सिकाइरहनुको विकल्प नरहेको उनले सुनाए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार