Listen LIVE

डुडुवाका ३७ जना एमालेमा प्रवेश, इश्तियाक राईद्वारा स्वागत

डुडुवा (बाँके) : नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाँकेका उम्मेदवार मोहम्मद इश्तियाक राई आज डुडुवा क्षेत्रमा चुनावी कार्यक्रमहरूमा सहभागी भएका छन् । डुडुवामा गरिएको घरदैलो र कोणसभामा ३७ जना युवा युवती नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

डुडुवा गाउँपालिका २ बाट आज विहान चुनावी प्रचार–प्रसचार सुरु गरेका राईले दिउँसोदेखि घरदैलो गरेका छन् । आज वडा नं २ का मतदाताहरूको घरघरै पुगेर राईले आफ्ना चुनावी अजेन्डाहरू प्रस्तुत गरेका छन् । राइले डुडुवामा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने, दक्ष जनशक्तिको व्यवस्था गर्ने, बाढी र डुबानको समस्या समाधान गर्न प्रयत्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

बाढी र डुबान नियन्त्रण गर्न  डुडुवा १ र २ नम्बर वडा चौफेरी र पाझामा राप्ती नदीमा तथा डुडुवा खोलाका आवश्यक ठाउँहरूमा पक्की तटबन्ध निर्माण गर्ने राईले प्रतिबद्धतापत्र मार्फत घोषणा गरिसकेका छन् । त्यस्तै वेतहनी–होलिया–चौफेरी–नरैनापुर जोड्ने सडक र त्यहाँ आवश्यक पर्ने पुलहरू निर्माण गर्न आफूले पहल गर्ने पनि उम्मेदवार राईको प्रतिबद्धता छ ।

डुडुवा लगायत पालिकास्तरमा रहेका १५ शय्याका अस्पताल र स्वास्थ्य चौकीहरूलाई सुविधासम्पन्न बनाउँदै प्रसुति सेवा सुरु गर्न आफू क्रियाशील हुने राईको भनाई छ ।

यसैबीच नेपाली कांग्रेसका नेता एवम् डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीको टोल सन्तलियाका दर्जनौं युवाहरू आज नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले प्रवेश गरेकाहरूलाई उम्मेदवार राई लगायतले स्वागत गरेका थिए ।

प्रतिक्रिया