बर्दिया : भोटेकोशी बाढीपछि रसुवामा काम गर्न गएका र सम्पर्कविहीन भएका बर्दियाका ७६ जनाको अवस्था अझै अज्ञात छ । आफन्तको खोजीमा घटनास्थलदेखि विभिन्न अस्पतालसम्म पुगे पनि कुनै पत्तो नलागेपछि परिवारजन अहिले डीएनए परीक्षणबाट पहिचान खुल्ने आशामा छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाले सम्पर्कविहीन व्यक्तिका आफन्तको डीएनए परीक्षणका लागि नमुना संकलन गरेको छ । बर्दिया अस्पतालको सहयोगमा गरिएको नमुना संकलनमा ५५ जना आफन्त सहभागी भएका छन् । सम्पर्कविहीन व्यक्तिको पहिचान खुलाउन उनीहरूका बुवा, आमा वा छोराछोरीमध्येबाट नमुना संकलन गरिएको हो ।
जिल्ला प्रहरी बर्दियाका डीएसपी रेशम बोहराका अनुसार तीन जना सम्पर्कविहीनका आफन्तले भने यसअघि नै बाहिरी जिल्लामा डीएनए नमुना दिइसकेका छन् । 'डीएनए परीक्षणका लागि तीन जनाका आफन्तले बाहिरी जिल्लामा नमुना दिइसकेको जानकारी प्राप्त भएको छ,' उनले भने, 'माथिल्लो निकायसँग समन्वय गरी परीक्षणका लागि संकलन गरिएको नमुना पठाइनेछ ।'
भोटेकोशी नदीमा आएको बाढीपछि हालसम्म बर्दियाका ७६ जना सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासनिक अधिकृत एवं विपद् सम्पर्क व्यक्ति लोकप्रसाद ढकालले जानकारी दिए । उनीहरू रोजगारीका लागि रसुवाका विभिन्न क्षेत्रमा पुगेका थिए । बाढीपछि परिवार र आफन्तसँग सम्पर्क टुटेपछि उनीहरूको खोजी भइरहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार