Listen LIVE

निर्वाचन सफल पार्न सबै लागौं : मन्त्री अग्रवाल

नेपालगञ्ज : लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री आदेशकुमार अग्रवालले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफल पार्न प्रदेश सरकारले आवश्यक सहकार्य गर्ने बताएका छन् । 

आइतबार यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री अग्रवालले निर्वाचन सफल पार्न प्रदेश सरकारले सङ्घीय सरकार, निर्वाचन आयोगलगायत सम्वद्ध निकायसँग आवश्यक समन्वय र सहकार्यका लागि तयार रहेको प्रतिवद्धता ब्यक्त गरे । 

मन्त्री अग्रवालले भने, “निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउन सबैपक्षको ध्यान केन्द्रीत हुन आवश्यक छ ।” मन्त्री अग्रवालले सीमा क्षेत्रमा तस्करी हुनेगरेको आम उद्योगी ब्यवसायीको बारम्बार गुनासो आउने गरेको भन्दै सुरक्षा निकायलाई नियन्त्रणका लागि ध्यान दिन निर्देशन दिए । 

उनले प्रदेश सरकारले सुरक्षा निकायलाई बार्षिक बजेटमार्फत सहयोग गरिरहेको भए पनि स्थानीय सुरक्षा अधिकारीहरुले प्रदेश सरकारका मन्त्रीलाई सम्मान दिन नसकेको टिप्पणी गरे । 

सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङ, प्रहरी उपरीक्ष अङ्गुर जिसी, नेपाल पत्रकार महासङ्घ लुम्विनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, जिल्ला अध्यक्ष नबिन गिरी, पूर्व अध्यक्ष रुद्र सुवेदी लगायतले सुरक्षा निकाय र पत्रकारबिच निरन्तर समन्वय र सहकार्यमा जोड दिए । 

सो अवसरमा अपराध अनुसन्धान र मानबीय उद्धारको कार्यमा महत्वपूर्ण योगदान दिने नेपाल प्रहरीका नायब निरीक्षक प्रविण डिसी, सहायक निरीक्षक नविनकुमार शाही, हवलदार पुरन चौधरी, सशस्त्र प्रहरी बलका सहायक हवल्दार (गोताखोर) मोहन विष्ट, सशस्त्र प्रहरी जवानहरु (गोताखोर) परमेश्वर थारु, रोशन केसी लगायतलाई कदरपत्रसहित सम्मान गरिएको छ ।

प्रतिक्रिया