Listen LIVE

‘आवश्यकता नभएको ठाउँको बजेट कार्यान्वयन हुँदैन’

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आवश्यकता नभएको ठाउँमा विनियोजित बजेट कार्यान्वयन नहुने बताएका छन् । 

नेपाल वन प्राविधिक सङ्घ सुदूरपश्चिम प्रदेश कमिटीको आज धनगढीमा भएको शपथ ग्रहण कार्यक्रममा बोल्नुहुँदै उनले आवश्यकता नभएको ठाउँमा विनियोजित बजेट कार्यान्वयन नहुने बताएका हुन् । 

बजेट निर्माणको क्रममा जे जति टीकाटिप्पणी भए पनि बजेट छानविन र कार्यान्वयनको जिम्मेवारी अब कर्मचारीको रहेको मुख्यमन्त्रीको भनाइ छ । उनले सुधार गर्ने, विधि र विधान पूरा गर्ने दायित्व कर्मचारीको काँधमा रहेको उल्लेख गर्दै नियतवश गल्ती गर्ने छुट कसैलाई नरहेको बताए ।  

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको क्षेत्र र जिम्मेवारी ठुलो रहेको भन्दै मुख्यमन्त्री शाहले यो मन्त्रालयबाट सही सन्देश दिन नसकेमा कहीँ पुग्न नसकिने जिकिर गरे । 

मन्त्रीसँग काम गर्न असहज भएको भन्दै मुख्यमन्त्री शाहले शुक्रबार उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई पदबाट बर्खास्त गरेका थिए । मन्त्रीलाई पदमुक्त गरेर मन्त्रालयको जिम्मेवारी आफैँले लिएका छन् ।

प्रतिक्रिया