दाङ : नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि एमाले–कांग्रेसका बिच सहकार्य भएको बताएका छन् ।
प्रेस चौतारी दाङले मङ्गलवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण लोकतन्त्रमाथि नै प्रश्न उठ्न थालेपछि लोकतन्त्रको स्थायित्व, विकास र समृद्धिका लागि एमाले र काँग्रेस मिल्नुपरेको बताए । राजनीतिक अस्थिरताका कारण लोकतन्त्र खतरामा, जनतामा चरम निराशासँगै आर्थिक मन्दी बढेकाले त्यसलाई हटाउनका लागि देशका प्रमुख दलहरू मिल्नुपरेको भन्दै महासचिव पोखरेलले भने,‘राजनीतिक अस्थिरताले अहिलेको व्यवस्थामाथि नै अविश्वास पैदा हुँदै गयो, जनतामा चरम निराशा पैदा गर्ने काम गरेपछि त्यसको अन्त्यका लागि एमाले–काँग्रेस जुट्नुपरेको हो ।’
त्यससँगै काँग्रेस र एमालेले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि संविधान संशोधन गर्न आवश्यक गर्न महसुस गरेको र त्यसका लागि एक्लै नसकिने भएकाले काँग्रेसको साथ खोजिएको महासचिव पोखरेलले बताए । महासचिव पोखरेलले राष्ट्रिय दल बन्न ३ प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेको भन्दै थ्रेसहोल्डको प्रतिशत बढाउन संविधान संशोधन गरिने बताए ।
साना राजनीतिक दलहरूले अनावश्यक बार्गेनिङ गर्दै सत्तामा पुग्ने र मुलुकमा निरन्तर अस्थिरता सृजना हुने अवस्था आएपछि दुई ठुला राजनीति दल एक ठाउँमा आउनुपरेको महासचिव पोखरेलले बताए ।
संविधानसभाबाट संविधान जारी गर्ने बेलामा भएको जस्तै सहकार्य प्रमुख राजनीतिक दलहरूको बिचमा सहकार्य भएको भन्दै महासचिव पोखरेलले भने, ‘संवैधानिक संरचनालाई बलियो बनाउने गरी दलहरूको बिचमा सहकार्य भएको हो । पाँच वर्ष ढुक्क भएर शासन गर्ने, स्थिर सरकार अनि बलियो प्रतिपक्ष निर्माण गर्न संवैधानिक संरचनामा सुधार गर्न हामी अघि बढेका छौँ ।’
त्यसै गरी महासचिव शङ्कर पोखरेलले वामपन्थीहरूका बिचमा एकताको कथा असफल भइसकेको भन्दै अब फेरि पुरानै बाटोबाट अघि बढ्न नसकिने बताए । कम्युनिस्ट पार्टी एकताको प्रहसन अब नदोहोरिने भन्दै महासचिव पोखरेलले बरु कम्युनिस्ट बिचारको एकता आवश्यक रहेको बताए ।
महासचिव पोखरेलले भने,‘नेताको टाउको जोडेर गरिने एकता दिगो हुँदैन,त्यो हामीले व्यहोरि सक्यौं । अब कार्यकर्ताको मन जोडेर राजनीतिक ध्रुवीकरण जरुरी छ ।’ उनले कम्युनिस्टमा विचार राख्नेहरू एमालेतिर र पुँजीवादी समाजवाद व्यवस्थामा विचार राख्नेहरू काँग्रेसतर्फ ध्रुवीकरण हुन आवश्यक रहेको भन्दै नेपालमा धेरै पार्टीको आवश्यकता नरहेको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार