नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा परिवर्तन भएसँगै निवर्तमान प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायको सम्मानपूर्वक विदाई तथा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत कृष्ण पौडेलको स्वागत गरिएको छ ।
गाउँपालिकाले एक औपचारिक कार्यक्रमको आयोजना गरी उपाध्यायलाई खादा, फूलमाला तथा मायाको चिनो प्रदान गर्दै विदाई गरेको हो । सोही अवसरमा दाङको गढवा गाउँपालिकाबाट सरुवा भई जानकी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी सम्हाल्न आएका पौडेललाई स्वागत गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले निवर्तमान प्रमुख प्रशासकीय अधिकृत उपाध्यायको कार्यकाल पालिकाको संस्थागत विकास, सेवा प्रवाह र प्रशासनिक सुधारका दृष्टिले महत्वपूर्ण रहेको बताए । उनले जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्य, समन्वय र आपसी विश्वासले मात्रै स्थानीय तहको प्रशासनलाई प्रभावकारी बनाउन सकिने उल्लेख गर्दै उपाध्यायले आफ्नो कार्यकालमा निर्वाह गर्नुभएको भूमिकाको प्रशंसा गरे ।
अध्यक्ष खाँले नयाँ प्रमुख प्रशासकीय अधिकृत पौडेलको आगमनसँगै गाउँपालिकाको सेवा प्रवाहमा थप गति, प्रभावकारिता र नागरिकमैत्रीपन आउने विश्वास व्यक्त गरे । स्थानीय नागरिकका आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर विकास निर्माण, प्रशासनिक सेवा तथा सामाजिक क्षेत्रका कामलाई थप व्यवस्थित बनाउन जनप्रतिनिधि र कर्मचारीबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार