Listen LIVE

चाडपर्वका बेला बाँकेमा एक हजार बढी सुरक्षाकर्मी परिचालन

नेपालगञ्ज : दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै प्रहरीले बाँकेमा चाडपर्व विशेष सुरक्षा योजना बनाएर लागू गरेको छ । सो योजना अन्तर्गत जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले चाडपर्वका बेला हुन सक्ने अशान्ति तथा आपराधिक गतिविधि नियन्त्रण गर्नुका साथै भारतबाट फर्किने नेपालीलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने उद्देश्यले विशेष सुरक्षा योजना तयार गरी लागू गरिएको बताए ।

उनले चाडपर्वको सुरक्षा व्यवस्थापनका लागि जिल्लामा नेपाल प्रहरीका एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जनाउँदै आवश्यकता परे प्रहरी गणबाट थप जनशक्ति परिचालन गरिने जानकारी दिए । उनका अनुसार चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न नेपालगञ्ज, कोहलपुर लगायतका क्षेत्रमा मोबाइल तथा पैदल गस्ती बढाइएको छ ।

…सर्वसाधारणलाई सुरक्षित रूपमा चाडपर्व मनाउने वातावरण बनाउन मोबाइल तथा पैदल गस्ती बढाइएको छ । चाडपर्वमा भीडभाडको मौका छोपेर हुन सक्ने चोरी तथा पाकेटमारी नियन्त्रणका लागि सादा पोसाकका प्रहरीसमेत परिचालन गरिएको छ,Ú उनले भने । चाडपर्वका बेला सवारीसाधनको चाप बढ्ने भएकाले ट्राफिक व्यवस्थापनमा पनि विशेष कडाइ गरिएको प्रहरीले जनाएको छ ।

जनपद प्रहरी र ट्राफिक प्रहरीले संयुक्तरूपमा विभिन्न स्थानमा सवारीसाधन जाँच गर्ने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । तीव्र गतिमा सवारी चलाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई तत्काल कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले बताए ।

उनका अनुसार ट्राफिक नियमविपरीत कार्य गरेको पाइएमा चालकलाई तत्कालै कारबाही गर्ने नीति बनाइएको छ । चाडपर्वमा मादक पदार्थ सेवन गरी सवारी चलाउने र छिटो गन्तव्यमा पुग्ने नाममा तीव्र गतिमा सवारी चलाउने गरेको विगतको अध्ययनले देखाएको भन्दै त्यसलाई नियन्त्रण गर्न जिल्लाका विभिन्न सडकमा जनपद प्रहरीसँगै ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

भारतबाट फर्किने यात्रुको सुरक्षा र सहजीकरणका लागि जमुनाहा नाकादेखि बसपार्कसम्म विशेष निगरानी राखिएको प्रहरीले जनाएको छ । सीमावर्ती क्षेत्रमा हुन सक्ने अवैध गतिविधि तथा ओसारपसार नियन्त्रणका लागि पनि निगरानी बढाइएको सूचना अधिकारी राठौरले बताए । चाडपर्वका बेला कुनै समस्या वा शङ्कास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन जिल्ला प्रहरी कार्यालयले सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया