Listen LIVE

एमालेको ११औं महाधिवेशन : अध्यक्ष ओलीले उदघाटन गर्ने

काठमाण्डौ : नेकपा एमालेको ऐतिहासिक ११औं राष्ट्रिय महाधिवेशन शनिबारबाट सुरु हुँदैछ । दिउँसो १२ बजे भक्तपुरको सल्लाघारीमा अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रमको उदघाटन गर्नेछन् ।

पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार दिउँसो १२ बजे अध्यक्ष ओलीले भक्तपुरको सल्लाघारीमा आयोजना गरिने उदघाटन सभालाई सम्बोधन गर्ने छन् । उदघाटन सभामा तीन लाख जनताको सहभागिता हुने एमालेले जनाएको छ ।

‘‘ऐतिहासिक ११औं महाधिवेशनलाई भब्य बनाउनका लागि देशैभरीबट ठुलो सङ्ख्यामा कार्यकर्ताहरु उपस्थित हुने क्रम जारी छ’’ गौतमले भने, ‘‘बागमती, मधेश र गण्डकी प्रदेशका प्रत्येवक वडा वडाबाट कार्यकर्ता आउँछन् । अन्य प्रदेशबाट ठुलो सङ्ख्यामा कार्यकर्ताहरु आउछन् ।’’

कार्यक्रमको उदघाटन अध्यक्ष ओलीले प्रविधिको प्रयोगबाट विशेष तरिकाले गर्ने गौतमले बताए । उदघाटनको त्यो विशेष तरिका एमालेले सार्वजनिक गरेको छैन । उदघाटन सम्बोधनमा अध्यक्ष ओलीले हालको विषम राजनीतिक परिस्थिति र यसको निकासका बारेमा एमाले कार्यकर्ता र आम जनतालाई स्पष्ट पार्ने गौतमले बताए । कार्यक्रममा काठमाडौँ उपत्यका लगायत देशका विभिन्न भागमा प्रचलनमा भएका झाँकीहरु प्रस्तुत गर्ने तयारी छ । उदघाटन सत्रमा नेपाली कांग्रेस लगायत १६ वटा दललाई अतिथिको रुपमा निमन्त्रणा गरिएको गौतमले जानकारी दिए । 

उदघाटन सत्रमा सहभागी हुन आउनेहरुलाई विभिन्न रुटहरु तयारी गरिएको छ । कार्यक्रम स्थलभन्दा पश्चिमतिरबाट आउनेले गठाघरसम्म मात्र सवारी साधान लैजान पाउने छन् । ति सवारी साधनहरु सानोठिमीस्थित खुला चौरमा पार्किङको व्यवस्था गरिएको छ । यसैगरी पूर्वबाट आउने सवारी साधानहरु जगातीमा पार्किङ गरिने छ । गठाघर र जगातीबाट सहभागीहरु जुलुससहित कार्यक्रम स्थलतर्फ आउनेछन् । नगरकोट क्षेत्रबाट आउनेहरुलाई सल्लाघारीको उत्तरतिरको क्षेत्रमा पार्किङ गर्न भनिएको छ । भक्तपुरका सबै वडाबाट जुलुससहित सहभागीहरु कार्यक्रम स्थलतर्फ आउनेछन् ।

महाधिवेशनमा २२ सय ६२ जना प्रतिनिधि निर्वाचित भएका छन् । उदघाटन सत्र सकिएपछि भोली बिहानदेखि काठमाडौँको भृकुटी मण्डपमा बन्द सत्र सुरु हुने एमालेले जनाएको छ । एमालेको १०औं महाधिवेशन चितवनको सौराहामा २०७८ सालमा भएको थियो ।

प्रतिक्रिया