Listen LIVE

कांग्रेसलाई एक ढिक्का बनाएर अगाडि लैजाने गगनको उदघोष

काठमाण्डौ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन् ।

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि आज केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै विगतका तिक्ततालाई बिर्सेर पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढ्ने उनले बताएका हुन् ।

निर्वाचन आयोगले निर्णय गरिसकेपछि निर्णयलाई स्वीकार गरेर आगामी दिनमा अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । “पार्टीभित्रका अग्रज नेतालाई सँगै हिँडाउने र नयाँ युवालाई जोडेर अगाडि बढ्छौँ, पूर्वसभापति शेरबहादुर देउवाको अभिभावकत्व र संरक्षकत्वको भूमिका खोजेको छौँ, एकदुई दिनभित्र सिङ्गो कांग्रेस एक ठाउँमा उभिने वातावरण बनाउन लागिरहेका छौँ” उनले भने ।

उनले फागुन २१ मा हुने निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याउने समय नजिकिएसँगै समयको चाप रहेको भन्दै सबैलाई साथमा लिएर पार्टीलाई आगाडि बढाउने दृढता व्यक्त गरे ।

प्रतिक्रिया