काठमाण्डौ : नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली टिमको स्वामित्व लिएदेखि नै चर्चा छ कर्णाली याक्स ।
कर्णाली अक्सनअघि नै भव्य कार्कय्रम गर्दै लोगो रिभेल कार्यक्रम गरेको थियो । साथै राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
कर्णाली याक्स एनपीएलमा सबैभन्दा ठूलो स्टार खेलाडी भित्र्याउने टिमसमेत हो । कर्णालीले भारतीय स्टार ब्याटर शिखर धवनलाई एनपीएलका लागि अनुबन्ध गरेर ठूलो चर्चा कमाएको छ । उनी ४ देखि ५ खेल खेल्नका लागि नेपाल आउनेछन् । एनपीएलका लागि अनुबन्ध हुने धवन सबैभन्दा ठूलो नाम हो र भारतका लागि खेलेर नेपालमा फ्रेन्चाइज लिग खेल्न आउन लागेको पहिलो खेलाडी समेत हुन् ।
हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सको मार्की खेलाडीमा हाल राष्ट्रिय टिमका अलराउण्डर सोमपाल कामी छन् । सोमपाल नेपालका लागि दुईवटा टी–२० विश्वकप खेल्ने एक्लो खेलाडी हुन् र अहिले राष्ट्रिय टिममा भएका मध्ये सबैभन्दा अनुभवी र पुराना खेलाडीमा पर्छन् ।
सोमपालसहित कर्णालीमा राष्ट्रिय टिमका अलराउण्डर गुल्शन झा र ब्याटर देव खनाल पनि छन् । यस्तै उमेर समूहबाट खेलिसकेका नन्दन यादव, यू–१९ टिमका कप्तानी गरेका रित गौतम, राष्ट्रिय टिममा परिसकेका मौसम ढकाल, भुवन कार्कीजस्ता खेलाडी पनि छन् ।
यस्तै यू–१९ बाट खेलेका दिपक डुम्रे, नेपाल ए बाट खेलेका अर्जुन घर्ती पनि कर्णाली याक्समा छन् ।
अक्सनमा सुरुवाती चरणमा ठीकठाक रहेको कर्णाली पछिल्लो चरणमा राम्रो खेलाडी अनुबन्ध गर्न सफल भएको थियो ।
कर्णालीमा मार्की खेलाडी अनुभवी सोमपाल रहँदा प्रशिक्षक भने सबैभन्दा युवा छन् । राष्ट्रिय टिमका पूर्वकप्तान तथा आफ्ना जमानाका क्लासिकल ब्याटर ज्ञानेन्द्र मल्ल प्रशिक्षक र डिरेक्टर अफ क्रिकेटमा छन् ।
कर्णालीको टिममा राष्ट्रिय टिम र घरेलु क्रिकेटमा राम्रो खेलेका खेलाडीहरू छन् । पेपरमा हेर्दा सन्तुलित देखिएको कर्णाली याक्स विदेशी खेलाडी थपिएपछि झन् बलियो देखिएको छ ।
कर्णालीले नेपालमा खेलिसकेकासहित विश्वचर्चित शिखर धवनलाई विदेशी खेलाडी कोटामा भित्र्याएको छ । जसमध्ये तीन जना ब्याटर छन् भने एक जना अलराउण्डर छन् । धवनसँगै हङकङका ब्याटर बाबर हायात अनि वेष्ट इन्डिजका विकेटकिपर ब्याटर चाडविक वाल्टन कर्णालीले अनुबन्ध गरेको छ । यस्तै पाकिस्तानका अलराउण्डर हुसेन तलात पनि छन् ।
तलात र वाल्टनले यसअघि भएको नेपाल टी–२० लिग खेलेका थिए । दुवैलाई टीयू मैदानमा खेलेको अनुभव छ । यस्तै बाबार हायातले नेपालमा यसअघि हङकङ राष्ट्रिय टिमबाट र यसअघिको फ्रेन्चाइज लिगहरु खेलेका छन् ।
धवनबाहेक सबै विदेशी खेलाडीसँग नेपालमा खेलेको अनुभव छ । जसको फाइदा कर्णालीलाई हुनेछ ।
कर्णाली टिम विदेशीको आगमनपछि सन्तुलित देखिएको छ र प्रशिक्षकमा पनि युवा जोश छ । हरेक पोजिसनमा कर्णालीको राम्रो खेलाडी छन् । टप अर्डर ब्याटिङमा विदेशी खेलाडी राम्रा छन् भने लोअर अर्डरदेखि बलिङमा नेपाली खेलाडीहरुले सम्हाल्नेछन् ।
कर्णालीले आफ्नै क्षेत्रका दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिश सिंह ठकुरीलाई पनि टिममा अनुबन्ध गरेको छ ।
कर्णालीको टिमको विशेषता भनेको टिममा रहेका विदेशी, आइकोनिक प्लेअर र यू–१९ एसिया कपका लागि टिममा परेका युनिश विक्रम ठकुरी बाहेक सबैले कम्तीमा विभिन्न चरणमा नेपालको जर्सी लगाएर खेलेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार