बर्दिया : सदरमुकाम गुलरियास्थित बर्दिया अस्पतालमा रेबिजविरुद्ध खोपको अभावले बिरामी प्रभावित बन्दै गएका छन् । कुकुरको टोकाईबाट दैनिक १५ देखि २० जना बिरामी आउने गरेको जिल्ला अस्पताल, बर्दियाले जनाएको छ ।
लामो समयदेखि रेबिज खोपको अभावमा पीडित बिरामी नेपालगञ्ज र कोहलपुर जाने गरेको बताउँछन् । बर्दिया अस्पतालमा करिब २ महिनादेखि रेबिजविरुद्ध खोपको अभाव भएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सुभाष पाण्डेयले बताए ।
रेबिजको खोपको लागि सम्बन्धित निकायमा पत्रचार गरिएको उनले जनाए । प्रदेश सरकारबाट उपलब्ध हुने खोप कहिले आउँछ यकिन नभएको अस्पतालले जनाएको छ ।
अस्पतालमा खोप अभाव भएपछि बजारमा महँगोमा खरिद गर्न बाध्य रहेको पीडित परिवारले जनाएका छन् । बजारमा रेबिज खोपको प्रति भायल ३ हजार ५ सय रहेको औषधि व्यवसायी बताउँछन् ।
जिल्लामा गत साउनदेखि यता हालसम्म करिब ७ सय ५६ जना कुकुरको टोकाइबाट घाइते भएको स्वास्थ्य कार्यालय, बर्दियाका सूचना अधिकारी पद्या श्रेष्ठले बताइन् । बर्दियामा सामुदायिक कुकुर, बाँदर लगायत वन्यजन्तुको टोकाइबाट घाइते भई आएकाहरु खोपको अभाव छ,’ उनले भनिन्, ‘भुस्याहा कुकुरको बन्ध्याकरण र व्यवस्थापन गर्न आवश्यक छ ।’
वार्षिक करिब ५ सय भायल खोप आउने गरेकोले पु¥याउन नसकेको स्वास्थ्यकर्मी बताउँछन् । कुकुरको टोकाइबाट प्रभावित गुलरिया, मधुवन, राजापुर लगायत नगरपालिकाबाट बढी खोपका लागि यहाँ आउने गरेका छन् ।
मधुवन नपा–४ का दुर्गा खत्रीले रेबिज खोप जिल्ला अस्पतालमा नपाएपछि नेपालगन्ज जानु परेको बताए । बहुला कुकुरले टोकेको २१ दिनभित्र भ्याक्सिन लगाउनुपर्ने हुन्छ । यसका लागि कुकुरको पहिचान गर्नु जरुरी रहेको चिकित्सक बताउँछन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार