Listen LIVE

एमाले उपाध्यक्ष थापा भन्छन् : जनयुद्ध हिंसा नै हो

अछाम : एमाले उपाध्यक्ष रामबहादुर थापाले जनयुद्ध हिंसा नै भएको बताएका छन् । नेकपा एमाले अछामको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न अछाम आइपुगेका थापाले बिहीबार नेपाल पत्रकार महासंघ अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जयुद्धलाई हिंसात्मक द्वन्द्व भनेकोमा पनि आपत्ति नरहेको बताए ।

‘जनयुद्ध भनेको हिंसा नै हो । हिंसा भनेको रक्तपात हो, त्यहाँ मर्ने र मार्ने हुन्छ । त्यसकारण अध्यक्षले भनेको भनाइमा मेरो आपत्ति छैन । यो कुरालाई माओवादीले पनि मान्छ,’ थापाले भने,‘माक्र्सवादी सबै क्रान्तिकारीहरूले युद्धद्वारा पनि समस्याको समाधमान गर्नुपर्छ भन्ने मान्यता राख्छन् । हिंसा भनेको वर्ग संघर्ष हो । संघर्षको सर्वोच्च रूप हो ।’ सामाजिक विज्ञान र माक्र्सवादले युद्धलाई राजनैतिक आन्दोलनको संघर्षको उच्चतम रूप मानेको उनले बताए ।

नेकपा गठन गर्दा जनयुद्धको बारेमा नेपालमा भएका संघर्षहरुको बारेमा दस्ताबेजमा नेपालमा चलेको दश वर्षको जनयुद्धले लोकतान्त्रिक क्रान्तिमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको उनले स्मरण गरे । नेकपा एमालेको दसौं महाधिवेशनले पनि त्यो कुरालाई पूर्ण रूपमा निस्तेज नपारेको बताए ।

एमालेले जनयुद्ध दिवस मनाउँछ कि मनाउँदैन भन्ने पत्रकारको प्रश्नमा थापाले भने ,‘ जनयुद्ध दिवस मनाउने होइन । कहीँ पनि दुनियाँमा त्यस्तो मनाइँदैन । माओवादीले पनि जनयुद्ध मनाउने भनेर स्टन्टबाजी गरेको हो,’ उनले भने,‘हामीले त गणतन्त्र दिवस मनाउने हो । असोज ३ गते गणतन्त्र दिवस मनाइरहेका छौं ।’ माओवादीले आफ्नो सरकार हुँदा जनयुद्ध दिवस मनाउने निर्णय गलत भएको उनले बताए ।

नेकपा चौमबाट २०३७ सालमा राजनीतिक यात्रा सुरु गरेका थापा लामो समय माओवादीमै रहेका थिए । उनी २०५० मा नेकपा माओवादीमा आबद्ध भएका थिए । भूमिगत कालमा माओवादीको विभिन्न संगठन हुँदै २०६४ सालमा एकीकृत नेकपा माओवादीको महासचिव भएका थिए । रक्षामन्त्री र गृहमन्त्रीसमेत भइसकेका उनी नेकपाका सचिवालय सदस्य बनेका थिए । पछि सर्वोच्च अदालतले एमाले र माओवादीको एकीकरणलाई अवैधानिक ठहर गरेपछि थापा एमालेमै बसेका थिए । पछिल्लो समय उनले माओवादीको आलोचना गर्दै आएका छन् ।

माओवादी केन्द्र र एमालेको लाइनबाट नेकपा बनेको भन्दै अहिलेको एमाले नयाँ एमाले र नेकपाको निरन्तरता भएकाले आफू एमालेमा बसेको उनले बताए । अस्थिर भएर,माओवादीबाट आफू एमालेमा नआएको उनले बताए । पुष्पकमल दाहालले नेकपा छाडेर माओवादी केन्द्रमा लागेर गुट बनाएको, माधवकुमार नेपालले नेकपा फुटाएर नेकपा एस बनाएको, वामदेव गौतमले नेकपा फुटाएर एकता अभियान बनाएको उनले आरोप लगाए । कांग्रेस, एमालेको गठबन्धन २०८४ सालसम्म रहने उनले दाबी गरे । २०८४ सालको निर्वाचनमा बहुमत ल्याउनेगरी अभियान सुरु गरेकाले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने अभियानको क्रममा अछाम पुगेको उनले बताए ।

प्रतिक्रिया