नेपालगञ्ज : जेनजी आन्दोलनपछिको राजनीतिक परिवेश र त्यसले महिला जनप्रतिनिधिको मनोविज्ञानमा पारेको प्रभावबारे नेपालगञ्जमा गहन छलफल गरिएको छ । सञ्चारिका समूह बाँकेको आयोजनामा सम्पन्न छलफलमा आन्दोलनको पृष्ठभूमि, त्यसपछिका घटनाक्रम तथा ति घटनाले महिला नेतृत्वको निर्णय प्रक्रिया, कार्यशैली र जनतासँगको सम्बन्धमा ल्याएको परिवर्तनलाई केन्द्रमा राखेर बहस गरिएको हो ।
कार्यक्रममा बहसकर्ताका रूपमा कोहलपुर नगरपालिकाकी उपमेयर सङ्गीता सुवेदी, कोहलपुर नगरपालिका–११ की वडाध्यक्ष कल्पना शर्मा, प्रदेश सरकारका पूर्वस्वास्थ्य राज्यमन्त्री हसिना खान, प्रदेश सभा सदस्य सुशीला बादी, राजनीतिक विश्लेषक अर्जुन पोखरेल तथा जेनजी प्रतिनिधिका रूपमा प्रतीक्षा बस्नेत सहभागी थिए । छलफलमा सहभागी वक्ताले जेनजी आन्दोलनलाई केवल असन्तोषको अभिव्यक्ति मात्र नभई राजनीतिक नेतृत्वप्रति जवाफदेहिता, पारदर्शिता र सुशासनको मागका रूपमा व्याख्या गरेका छन् । आन्दोलनपछि करिब एक महिनासम्मका घटनाक्रमले महिला जनप्रतिनिधिको राजनीतिक जीवनमा प्रत्यक्ष र गहिरो मनोवैज्ञानिक प्रभाव पारेको वक्ताले बताएका छन् ।
कोहलपुर नगरपालिकाकी उपमेर सुवेदीले जेनजी आन्दोलनले जनप्रतिनिधि र जनताबिचको सम्बन्धलाई पुनः परिभाषित गरिदिएको बताइन् । आन्दोलनपछि केही समय मानसिक रूपमा समालिन कठिन भएको अनुभव सुनाउँदै उनले राजनीतिक दबाबको असर परिवारसम्म पुगेको र त्यसले व्यक्तिगत रूपमा पीडा दिएको बताइन् । कोहलपुर नगरपालिका–११ की वडाध्यक्ष कल्पना शर्मा अधिकारीले महिला जनप्रतिनिधि आलोचनालाई नकारात्मक रूपमा होइन, सुधारको अवसरका रूपमा लिन सिक्दै गएको बताइन् ।
पूर्वस्वास्थ्य राज्यमन्त्री हसिना खानले बदलिँदो सामाजिक र राजनीतिक परिवेशले महिला नेतृहरूको मानसिकता अझ सुदृढ बन्दै गएको धारणा व्यक्त गरिन् । प्रदेश सभा सदस्य सुशीला बादीले युवाको सक्रिय सहभागिताले नीति निर्माण प्रक्रियामा नयाँ दृष्टिकोण थपिएको उल्लेख गरिन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार