नेपालगञ्ज : बाँके क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालासँग मतदाताले सादगी नेता स्वर्गिय सुशिल कोइरालाको पथलाई पछ्याउन सुझाव दिएका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ मा बुधबार बिहान आयोजित भेटघाट तथा घरदैलोका क्रममा कोइरालाले मतदातालाई ढोग गर्दै र हात जोड्दै कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गरेर जिताउन अनुरोध गरेका थिए ।
त्यसक्रममा घर–घरबाट निस्केका महिला, पुरुष, युवा र बृद्धले कोइरालालाई स्वागत गर्र्दै सादगी नेता एवम् पुर्वप्रधानमन्त्री स्वर्गिय सुशिल कोइरालाले जस्तै गरेर सरल जीवन शैली र आफुमा कुनै दाग नलगाउन सुझाव दिए । ‘तपाई पुर्वप्रधानमन्त्री स्वर्गिय सुशिल कोइराला जस्तो साधारण जीवन शैली बोकेको, त्यागी नेताको परिवारको सदस्य हुनुहुन्छ, अहिले तपाई उम्मेदवार भएको कुरा थाहा पाउँदा हामी एकदमै खुसी छौं, बाँकेको क्षेत्र नम्बर २ का हामी मतदाताले तपाई जस्तो युवा उम्मेदवार पाएका छौं, यो नै खुसीको कुरा हो,’ एक स्थानीयले कोइरालालाई धाप मार्दै भने ।
घरदैलोका क्रममा स्थानीय स्तरमा महिला, पुरुष, युवा र बृद्धहरुले समेत कोइरालालाई हौसला दिएका थिए । ‘यसपटक यो क्षेत्रमा जित्ने पालो कांग्रेसको हो, सुशिल कोइराला पछि कांग्रेसले जित्न नसकेको यो क्षेत्रमा यसपटक युवा नेता शुधान्सु कोइराला जत्तिको उम्मेदवार पाउनु नै हाम्रो लागि शौभाग्य हो,’ स्थानीय एक युवाले भने, ‘म कुनैपनि पार्टीको सदस्य छैन, तर म कांग्रेसलाई मतदान गर्छु ।’
नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ कावडासभापति सञ्जय बर्माको नेतृत्वमा भएको उक्त घरदैलोका क्रममा उम्मेदवार कोइरालासँगै पार्टीका महासमिति सदस्य एवम् नेता राजकुमार बर्मा, महासमिति सदस्य एवम् डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, महासमिति सदस्य निजामुद्दिन अन्सारी ‘छोड्कौं’, पार्टीका युवा नेता एवम् तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्र बहादुर शाह, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सचिव प्रदिप साह, युवा नेता रमेश तिमिल्सिना लगायतको उपस्थिती रहेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार