Listen LIVE

नेपालगञ्जमा आजदेखि १५९औँ रामलीला महामहोत्सव

नेपालगञ्ज : नेपालगञ्जको ऐतिहासिक तथा सांस्कृतिक पहिचानका रूपमा स्थापित रामलीला महामहोत्सवको १५९औँ शृङ्खला आजदेखि सञ्चालन हुँदैछ ।

समितिका अध्यक्ष सन्तोष कुमार कनोडियाका अनुसार दस दिनसम्म सञ्चालन हुने रामलीला महामहोत्सवको मञ्चन नेपालगञ्जस्थित रामलीला मैदानमा हुनेछ । कार्यक्रमको विधिवत् शुभारम्भ आज दिउँसो २ बजे शोभायात्रासहित गरिनेछ भने औपचारिक उदघाटन राति ८ बजे नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले गर्ने कार्यक्रम तय भएको छ ।

रामलीला मञ्चनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको समितिले जनाएको छ । मञ्च, प्रकाश, कार्यक्रमस्थलको सरसफाइ तथा कलाकारहरूको बसोबास लगायतका व्यवस्थापनका काम भइरहेको अध्यक्ष कनोडियाले जानकारी दिए । कलाकारहरूको सुरक्षालाई समेत विशेष प्राथमिकता दिइएको उनले बताए ।

हरेक दिन साँझ ८ बजेदेखि राति १२ बजेसम्म रामलीला मञ्चन गरिनेछ । भगवान् श्रीराम र माता सीताको जीवनमा आधारित विभिन्न धार्मिक तथा पौराणिक कथालाई नाटकीय रूपमा प्रस्तुत गरिने समितिले जनाएको छ । रामलीलाका क्रममा श्रीराम जन्मोत्सव, धनुष यज्ञ, रावण वध, भरत मिलाप र शुभ राज्याभिषेक लगायतका महत्वपूर्ण प्रसङ्ग आकर्षणका रूपमा रहने प्रचारमन्त्री आदित्य गुप्ताले जानकारी दिए ।

यस वर्षको रामलीला मञ्चनका लागि भारतको वृन्दावनबाट राधारमणको नेतृत्वमा २५ जनाको कलाकार टोली नेपालगन्ज आइसकेको समितिले जनाएको छ । उक्त टोलीले विभिन्न धार्मिक पात्रको भूमिका निर्वाह गर्दै रामायणका महत्वपूर्ण प्रसङ्गलाई जीवन्त रूपमा प्रस्तुत गर्नेछ ।

१५८ बर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको रामलीला नेपालगञ्जको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको महोत्सव हो । यसले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै कला, संस्कृति र सामाजिक एकताको सन्देश प्रवाह गर्दै आएको छ । 

समितिले रामलीला महामहोत्सवलाई भव्य, सभ्य र व्यवस्थित बनाउन सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई प्रचारप्रसारमा सहयोग गर्न अपिल गरेको छ । रामलीला मञ्चनलाई थप प्रभावकारी बनाउन सामूहिक सहभागिता र सहकार्य आवश्यक रहेको अध्यक्ष कनोडियाले बताए ।

प्रतिक्रिया