Listen LIVE

आजदेखि बडादशैं शुरु, पहिलो दिन घटस्थापना

नेपालगञ्ज : नेपालीहरूको महान् पर्व बडादशैं आजदेखि सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनासँगै यस वर्षको दशैं पर्व आरम्भ भएको हो ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज बिहान ११ बजेर ४७ मिनेटमा घटस्थापनाको उत्तम साइत रहेको छ । दिनभर चित्रा नक्षत्र पर्ने भएकाले शास्त्रीय मान्यता अनुसार मध्याह्नकालको अभिजित् मुहूर्तमा साइत निर्धारण गरिएको समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए ।

सूर्योदयका बेला प्रतिपदा तिथि परेको दिन घटस्थापना गर्नुपर्ने धार्मिक मान्यता अनुसार आजकै दिन घटस्थापनाको निर्णय गरिएको उनले बताए । सामाजिक सञ्जालमा घटस्थापना सोमबार गर्नुपर्ने भन्दै फैलाइएको चर्चा शास्त्रसम्मत नभएको उनको भनाइ छ ।

घटस्थापनाका दिन घरघरमा पूजा कोठा वा दशैंघरमा दियो, कलश र गणेश स्थापना गरी दुर्गा भवानीको पूजा गरिन्छ । शुद्ध स्थानबाट ल्याइएको बालुवा वा माटोमा जौ छरेर जमरा राख्ने परम्परा छ । जौको अंकुरलाई देवी दुर्गाको प्रिय वस्तु मानिने भएकाले नौ दिनसम्म पूजा आराधना गरी दशमीका दिन टीका र प्रसादसँगै पहेँलो जमरा ग्रहण गरिन्छ ।

घटस्थापनादेखि विजया दशमीसम्मको नौ दिनलाई नवरात्र भनिन्छ । यस अवधिमा देवी दुर्गाका नौ स्वरूप—शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको क्रमशः पूजा आराधना गरिन्छ ।

दशैंको सातौँ दिन फूलपाती भित्र्याउने चलन छ भने महाअष्टमी र महानवमीमा विभिन्न शक्तिपीठ, कोत तथा दशैंघरमा विशेष पूजाआजा गरिन्छ । नवरात्रका अवसरमा दुर्गा सप्तशती, चण्डी, श्रीमद्देवीभागवतलगायत धार्मिक ग्रन्थको पाठ गर्ने परम्परा पनि छ ।

यस समयमा नेपालगञ्जको बागेश्वरी मन्दिर लगायतका शक्तिपीठमा भक्तजनको चहलपहल बढ्ने गर्छ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा दशैं मनाउने गरिन्छ । धार्मिक तथा सांस्कृतिक आस्थासँग जोडिएको यो पर्वमा परिवारका सदस्य तथा आफन्तबीच भेटघाट, टीका र जमरा आदानप्रदान गर्ने परम्परा छ ।

यस वर्षको विजया दशमी अर्थात् टीका कात्तिक ४ गते परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीका लगाउने उत्तम साइत सो दिन बिहान १० बजेर २६ मिनेटका लागि निर्धारण गरेको छ ।

प्रतिक्रिया