Listen LIVE

दुर्गमका स्वास्थ्य संस्था सधैँ समस्यामा

कालीकोट : दुर्गमका स्वास्थ्य संस्थामा सधैँ समस्या हुने गरेको छ । कहिले जनशक्ति अभाव त कहिले उपकरण अभावमा दुर्गमका स्वास्थ्य संस्था जहिले समस्यामा हुने गरेको पाइएको हो । सुरक्षित र गुणस्तरीय प्रसूति सेवा दिने भन्दै सरकारले दुर्गममा स्थापना गरेका प्रसूति केन्द्र (बर्थिङ सेन्टर) ले जनशक्ति र उपकरण अभाव झेलिरहेका छन् ।

कालीकोटको पलाँता गाउँपालिकामा रहेका ६ मध्ये तीन वटा बर्थिङ सेन्टरमा वर्षमा मुस्किलले १५ देखि २० जना प्रसूतिका लागि आउने गरेका छन् । जीर्ण भवन, जनशक्ति र उपकरण अभावमा स्थापना भएकाले यहाँका बर्थिङ सेन्टर नाम मात्रका बन्न पुगेका हुन् । संस्थामा सेवा राम्रो पाइँदैन भन्ने सूचना नागरिकले पाउने गरेकाले त्यहाँ सेवा लिन पुग्ने कुरा भएन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका, २०६५ (तेस्रो संशोधन २०७३) अनुसार बर्थिङ सेन्टरमा अक्सिजनसहित एक सय चार प्रकारका उपकरण सामग्री, २१ प्रकारका औषधी, दुई अनमीसहितको जनशक्ति हुनुपर्ने उल्लेख छ । तर बर्थिङ सेन्टर पायक पर्ने ठाउँमा छैनन्, अर्को तर्फ तोकेको सेवा सुविधा पनि छैन ।

पलाँताको भूगोल पनि त्यस्तै छ । स्थानीय सरकारले ध्यान दिएर पायक पर्ने ठाउँमा बनाउनुपर्ने हो, तर पालिका नेतृत्वले स्वास्थ्यका कुरामा चासो लिएर सुन्दैन, पलाँता स्वास्थ्य चौकी धौलागोहका इन्चार्ज विनोद न्यौपाने गुनासो गरे । सात वर्षअघि स्थापना भएको बर्थिङ सेन्टरको अवस्था नाजुक रहेको उनको भनाइ छ ।

कालीकोट जिल्लाभर ४० वटा बर्थिङ सेन्टर छन् । अहिले धेरै बर्थिङ सेन्टरले प्रभावकारी सेवा दिन सकेका छैनन् । स्वास्थ्य सेवा कार्यालय कालीकोटका स्टाप नर्स बर्थिङ सेन्टर फोकल पर्सन मिरा शाहीले कालीकोट जस्तो जिल्लामा अहिले पनि स्थानीय तहले चासो नदिएको बताइन् । उनले भनिन, ‘‘बर्थिङ सेन्टरको रेखदेख गर्ने जिम्मा स्थानीय तहको हो, तर स्थानीय सरकारले लगानी गर्न सकिरहेको छैन । जसले गर्दा औजार र उपकरण अभाव हुने गरेको छ, जीर्ण भवन, पानी, शौचालयलगायत अति आवश्यक पूर्वाधार पनि अभावै रहेको मिराको भनाइ छ ।

यस्तै, नरहरिनाथ गाउँपालिका वडा नं ७ उच्छप आधारभूत स्वास्थ्य सेवा केन्द्रमा रहेको बर्थिङ सेन्टरले चार वर्षदेखि स्वीकृति बिना सेवा सञ्चालन गरेको छ । बर्थिङ सेन्टरमा चाहिने, पूर्वाधार र उपकरण अभाव झेलिरहेको अनमी कमला भट्टराईले बताइन् । उनले स्वीकृत भएर कानुनी मान्यता पाएको छैन, भरपर्दो स्वास्थ्य उपकरण बिना काम गरिरहेका छौं । औषधी र उपकरण अभाव छ । त्यही भएर पनि सेवाग्राही खासै आउँदैनन । सुत्केरी भएपछिको समयमा अप्ठ्यारो भएका महिलालाई केही समय निगरानीमा राख्नुपर्ने हुन्छ । त्यसका लागि बेड छैन । प्रसूति गराउने स्वास्थ्यकर्मीलाई पनि बर्थिङ सेन्टरमा आवासीय व्यवस्था हुनुपर्ने हो, त्यो पनि छैन । जवरजस्ती सेवा दिनु परेको भट्राईको भनाइ छ ।

रातको समयमा व्यथा लागेर बर्थिङ सेन्टरसम्म पुग्ने र त्यसपछि आफूहरूलाई बोलाउने गरेको उनको भनाइ छ । प्रसूती गर्ने तालिम प्राप्त कर्मचारीलाई आवासीय व्यवस्थादेखि उपकरण सबै उपलब्ध हुनुपर्नेमा जस्तापाताले छाएका र कच्ची घरबाट सेवा दिनुपर्दा बर्थिङ सेन्टर नै असुरक्षित अवस्थामा रहेको कर्मचारीको भनाइ छ । स्थानीय सरकारले जति हल्ला गर्छ त्यही काम गरेको पाइँदैन । 

स्वास्थ्य  संस्था जस्ताले छाएका छन् । तर जनप्रतिनिधिहरु विभिन्न नाम दिएर गाउँमा शिविर सञ्चालन गरेको हल्ला गरिरहन्छन् स्वास्थ्यकर्मी कटकबहादुर महतले भने । स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारीसमेत रहनुभएका अधिकृत महतले हल्लाले नागरिकको ज्यान जोगाउन नसकिने भएकाले नागरिकको ज्यान जोगाउनका लागि स्वास्थ्य संस्थामा उपकरण अति आवश्यक भएको बताए । उपकरण बिना काम छैन । अधिकार भएकाले उपकरण खरिद गरेर सेवालाई गुणस्तर बनाउनुपर्ने हो त्यो हुँदा झन् समस्या हुने गरेको महतको भनाइ छ ।

प्रतिक्रिया