नेपालगञ्ज : डिभिजन वन कार्यालय बाँकेले आइतबार बिहान जङ्गलक्षेत्र नजिकको मानव बस्तीबाट एउटा वयस्क घाइते अवस्थाको चित्तलको उद्धार गरेको छ ।
डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० राँझास्थित पशुपतीनगर सामुदायिक वन उपभोक्ता समूहअन्तर्गत पर्ने कम्दी जैविक मार्ग क्षेत्रबाट वयस्क घाइते चित्तलको उद्धार गरिएको जानकारी दिए ।
उनले उक्त जङ्गल क्षेत्र नजिकको मानव बस्तीमा घाइते अवस्थामा चित्तल रहेको भन्दै उक्त वन उपभोक्ता समूहका अध्यक्ष खडेन्द्र बुढाथोकीले वन कार्यालयमा खबर गरेपछि वनको उद्धार टोली तत्काल उक्त स्थानमा पुगेर घाइते चित्तलको उद्धार गरिएको बताए ।
चित्तलको पेटको तल्लो भागमा तारमा अल्झिएर चोटपटक लागेजस्तो देखिएको र प्रारम्भिक उपचारपश्चात् बाँके राष्ट्रिय निकुञ्जमा लगेर बुझाइएको सुवेदीले जानकारी दिए । उनले बाँके राष्ट्रिय निकुञ्जले चित्तल पूर्ण रुपमा निको नहुञ्जेल उपचार गर्ने र तत्पश्चात् सुरक्षित वासस्थानमा लगेर छाडिदिने बताए ।
चित्तल अन्दाली ४–५ वर्षको वयस्क भाले प्रजातिको रहेको वन कार्यालयले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार