Listen LIVE

लागुऔषधिसहित रुपईडिहामा नेपाली महिला पक्राउ

नेपालगञ्ज : नेपालगञ्जको जमुनाहा नाकास्थित भारतीय सीमावर्ती बजार रुपईडिहामा ठुलो परिमाणको लागुऔषधसहित एक नेपाली महिला पक्राउ परेकी छन् । रोल्पाको थबाङ गाउँपालिका–५ निवासी करिब ६५ वर्षीया मनपुरा बुढा ढाई किलो अवैध अफिमसहित पक्राउ परेकी हुन् ।

भारत–नेपाल सीमा क्षेत्रमा लागुऔषध तस्करी नियन्त्रण अभियानअन्तर्गत रुपईडिहा प्रहरी र सशस्त्र सीमा बल -एसएसबी)को संयुक्त टोलीले रुपईडिहा बजारस्थित एसएसबी चेकपोस्टमा उनलाई पक्राउ गरेको भारतीय प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको साथबाट बरामद अफिमको अन्तर्राष्ट्रिय बजार मूल्य करिब ३० लाख भारतीय रुपैयाँ रहेको छ । घटनाबारे रुपईडिहा थानामा एनडीपीएस ऐनअन्तर्गत मुद्दा दर्ता गरी उनलाई बहराइच अदालत पठाइएको छ ।

पक्राउ तथा बरामदगीमा रुपईडिहा प्रहरी र एसएसबीको संयुक्त टोली परिचालन भएको रुपईडिहाबाट सहकर्मी सन्तोष शुक्लाले जनाएका छन् ।

प्रतिक्रिया