धनगढी : गृहमन्त्री ओमप्रकाश अर्यालयले तोकेको समयमा निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनु यो सरकारको मुख्य उद्देश्य रहेको बताएका छन् । गृह मन्त्रालय र सुदूरपश्चिम प्रदेश सरकारले आज धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उदघाटन गर्दै गृहमन्त्री अर्यालले तोकेको समयमा निर्वाचन गराउनका लागि सरकारले काम गरिरहेको बताए ।
उनले जेनजी युवाले उठाएको माग र भदौ २३, २४ को घटना पश्चात नेपाल सरकार र गृह मन्त्रालयले शान्ति, सुरक्षा, अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाह र प्रभावकारिताको लागि निष्ठापूर्वक काम गरिरहेको बताए । जेनजी आन्दोलनको क्रममा घटेको घटनापश्चात् सुरक्षा संयन्त्रहरूको कार्य सम्पादन र दैनिक प्रशासनिक कार्यमा असर परेको भए पनि अब सबै लयमा फर्केको गृहमन्त्रीको भनाइ थियो ।
“सुरक्षाको अवस्था पनि सामान्य बनेको छ”, उनले भने, “सबैको प्रयास, सहयोग र रचनात्मक सुझावका लागि धन्यवाद दिन चाहन्छु ।”
लोकतान्त्रिक पद्धतिमा निर्वाचन अपरिहार्य रहेको भन्दै गृहमन्त्री अर्यालले चुनावको तयारीका सन्दर्भमा केही मनोवैज्ञानिक चुनौती आएकाले सरकार कानुन कार्यान्वयनमा प्रतिबद्ध रहेको उल्लेख गरे । हिंसा र अराजकता रोकथाम, नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको र सोही किसिमबाट संयन्त्रलाई परिचालन गरिरहेको उनको भनाइ थियो । मनोवैज्ञानिक चुनौतीका सन्दर्भमा ढुक्क हुन आग्रह गर्दै गृहमन्त्रीले भने,“सबै राजनीतिक दल, नागरिकलाई आह्वान गर्न चाहन्छु की देश बनाउने अभिभारा सबैको हो ।”
सुरक्षा बैठकमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, आन्तरिक मामिला तथा कानुनमन्त्री हीरासिंह सार्कीलगायतले बोलेका थिए । सुरक्षा बैठकमा गृहसचिव, चारवटै सुरक्षा निकायका प्रमुख, नौ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सहभागिता रहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार