Listen LIVE

दरबन्दी नहुँदा क्यान्सर अस्पतालको सेवा प्रभावित

नेपालगञ्ज : बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आवश्यक स्थायी दरबन्दीको अभावमा सञ्चालनमा चुनौतीमा थपिएको छ ।

स्थानीयवासीको लामो प्रयास र जनसहयोगबाट निर्माण सम्पन्न गरी २०७२ सालमा संघीय सरकारलाई हस्तान्तरण गरिएको उक्त अस्पतालले हालसम्म पनि सेवाको आवश्यकता अनुसार स्थायी दरबन्दी प्राप्त गर्न सकेको छैन । संघीय सरकारको स्वामित्वमा सञ्चालन हुँदै आएको अस्पताल चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको पर्याप्त दरबन्दी स्वीकृत नहुँदा अस्थायी, करार तथा दैनिक ज्यालादारी जनशक्तिको भरमा सञ्चालन भइरहेको छ ।

अस्पतालका संस्थापक किस्मत कुमार कक्षपतिका अनुसार अस्पताल विकास समिति लामो समयदेखि नेतृत्वविहीन हुँदा कर्मचारी व्यवस्थापनमा थप समस्या उत्पन्न भएको छ । उनका अनुसार विकास समितिको नेतृत्व रिक्त भएको करिब एक वर्ष पुगिसक्दा पनि स्वास्थ्य मन्त्रालयले नयाँ नेतृत्व प्रदान गर्न सकेको छैन ।

'अस्पताल विकास समिति नेतृत्वविहीन भएको एक वर्ष पुगिसक्यो । तर स्वास्थ्य मन्त्रालयले अहिलेसम्म नयाँ नेतृत्व दिन सकेको छैन,' कक्षपतिले भने, 'विकास समितिको नेतृत्व नहुँदा करारमा कर्मचारी नियुक्त गर्नसमेत सकिएको छैन । यसले अस्पतालको नियमित सेवा सञ्चालनमै प्रत्यक्ष असर परेको छ ।'

उनले बिरामीको चाप निरन्तर बढिरहेको अवस्थामा आवश्यक जनशक्ति व्यवस्थापनका लागि सरकारले तत्काल प्रक्रिया अघि बढाउनुपर्ने बताए । लामो समयदेखि क्यान्सर उपचार सेवा दिँदै आएको अस्पतालमा जनशक्ति अभावका कारण सेवा विस्तार तथा विशेषज्ञ सेवा निरन्तरतामा समेत चुनौती थपिएको उनको भनाइ छ ।

विशिष्टीकृत क्यान्सर अस्पतालका रूपमा सेवा दिइरहेको अस्पतालका निर्देशक डा. नीरज भट्टराईका अनुसार अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्न ४०९ जना जनशक्ति आवश्यक छ । तत्काल सबै दरबन्दी स्वीकृत गर्न कठिन भए पनि पहिलो चरणमा कम्तीमा २०० दरबन्दी स्वीकृत भए अस्पतालको सेवा प्रवाहमा उल्लेख्य सुधार ल्याउन सकिने उनले बताए ।

'अस्पतालको आवश्यकता र सेवाको प्रकृतिअनुसार ठूलो सङ्ख्यामा जनशक्ति आवश्यक छ । अहिले सीमित जनशक्तिबाट सेवा सञ्चालन गर्नुपरेको छ,' निर्देशक डा. भट्टराईले भने, 'कम्तीमा २०० दरबन्दी स्वीकृत भएमा सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन सकिन्छ ।'

जनशक्ति अभावका बाबजुद अस्पतालले बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । तर स्थायी दरबन्दीको अभावले कर्मचारी व्यवस्थापन, सेवा विस्तार तथा विशेषज्ञ सेवा निरन्तरतामा प्रत्यक्ष प्रभाव पारिरहेको अस्पताल प्रशासनको भनाइ छ ।

स्थानीय जनसहयोगबाट निर्माण भई संघीय सरकारको स्वामित्वमा पुगेको यस अस्पताललाई आवश्यक जनशक्ति र पूर्वाधारसहित प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्ने माग स्थानीयस्तरबाट समेत उठ्दै आएको छ । क्यान्सर उपचारका लागि पश्चिम नेपालका विभिन्न जिल्लाबाट बिरामी आउने गरेको अवस्थामा अस्पतालको जनशक्ति अभाव तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता देखिएको छ ।

अब अस्पतालको सेवा र संरचनाअनुसार आवश्यक स्थायी दरबन्दी स्वीकृत गर्नुका साथै अस्पताल विकास समितिको नेतृत्वसमेत यथाशीघ्र टुङ्गो लगाउनुपर्ने सरोकारवालाको माग छ ।

प्रतिक्रिया