बर्दिया : बर्दियामा मानव–वन्यजन्तु द्वन्द्वका घटना वृद्धि भइरहेका छन् । चालु आर्थिक वर्षको पहिलो छ महिनामा वन्यजन्तुको आक्रमणमा परेर जिल्लामा छ जनाले ज्यान गुमाएका छन् । पछिल्ला वर्षमा मध्यवर्ती क्षेत्रका सामुदायिक वनक्षेत्र तथा त्यस आसपासका वस्तीमा वन्यजन्तुको आवतजावत बढेसँगै मानव–वन्यजन्तु द्वन्द्वका घटना वृद्धि हुँदै गएका छन् ।
डिभिजन वन कार्यालय बर्दियाका अनुसार साउनदेखि पुस मध्यसम्म चितुवा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट छ जनाको मृत्यु भएको छ । अघिल्लो आव २०८०–८१ मा मानव–वन्यजन्तु द्वन्द्वका कारण चार जनाले ज्यान गुमाएका थिए भने चालु आव २०८१–८२ को छ महिनामै उक्त सङ्ख्या छ पुगेको छ । जसले गर्दा संरक्षणमा झन् समस्या थपिँदै गएको छ ।
तथ्याङ्क अनुसार गत साउन ३० गते गुलरिया नगरपालिका–१२, भैँसाहीकी जगतरानी थरुनी, भदौ २९ गते सोही वडाकी कविता मोक्तान, मङ्सिर १२ गते बारबर्दिया नगरपालिका–११ की गोपी थरुनी, पुस २ गते बारबर्दिया नगरपालिका डफैयाका दिनेश थारूको वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको थियो । त्यसै गरी पुस ९ गते बारबर्दिया नगरपालिका बैदीकी पवित्रा डाँगी तथा पुस १५ गते मधुवन नगरपालिका–२, कोठियागाउँकी विनिता परियारको वन्यजन्तुको आक्रमणमा परेर मृत्यु भएको हो ।
स्थानीयवासीका अनुसार पछिल्ला केही वर्षयता निकुञ्जको भित्री क्षेत्रबाट मध्यवर्ती क्षेत्रका सामुदायिक वनक्षेत्रमा वन्यजन्तुको आक्रमण निरन्तर बढिरहेको छ । मानिसले ज्यान गुमाउँदासमेत सरोकारवाला निकायले प्रभावकारी कदम नचालेको भन्दै पीडित पक्षले गुनासो गरेका छन् । मधुवन नगरपालिका–२, कोठियागाउँका तेजु परियारले वन्यजन्तुको आक्रमणबाट स्थानीय बासिन्दाको मृत्यु हुँदा डिभिजन वन कार्यालयलगायत सम्बन्धित निकाय मौन बसेको आरोप लगाए।
यस विषयमा प्रतिक्रिया दिँदै डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत गोपाल चौधरीले विगतका वर्षको तुलनामा चालु वर्ष मानव मृत्युको दर चिन्ताजनक रूपमा बढेको स्वीकार गरे । उनले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि थप सतर्कता, पूर्वसूचना प्रणाली र स्थानीय समुदायसँग सहकार्य आवश्यक रहेको बताए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार