Listen LIVE

बाँके २ मा समानुपातिकमा रास्वपा पहिलो

नेपालगञ्ज : प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रत्यक्षतर्फ एमालेले जित हात पारेको बाँके क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो बनेको छ ।

यसअघि प्रत्यक्षतर्फको निर्वाचनमा एमालेका उम्मेदवार मोहम्मद ईश्तियाक राईले  २४ हजार ६२८ मत प्राप्त गरेर जितेको बाँके २ मा समानुपातिकतर्फ रास्वपा पहिलो र एमाले दोस्रो बनेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जले सार्वजनिक गरेको बाँके २ को अन्तिम मत परिणाम अनुसार एक लाख ११ हजार ३३६ मतदाता रहेको सो क्षेत्रमा ७३ हजार ५२ मत खसेकोमा ६८ हजार ४०४ मत सदर भएको थियो भने चार हजार ६४८ मत बदर भएको थियो ।  

सदर मतमध्येबाट रास्वपाले २४ हजार ३४१ मत पाएर पहिलो दल बनेको छ भने २० हजार ५५२ मत पाएर एमाले दोस्रो स्थानमा रहेको छ । यसअघि सोही क्षेत्रबाट प्रत्यक्षमा एमालेका उम्मेदवार राईले पहिलो बन्दै २४ हजार ६२८ मत ल्याउनु भएको थियो भने रास्वपाका उम्मेदवार विवेक श्रेष्ठले १९ हजार मत ल्याएर दोस्रो भएका थिए ।

समानुपातिकमा सो क्षेत्रबाट १२ हजार ५८४ मत पाएर नेपाली कांग्रेस तेस्रो दल बनेको छ भने ३ हजार ६६५ मत पाएर राप्रपा चौथो दल बनेको छ । सोही प्रकारले ३ हजार १६५ मत पाएर नेपाली कम्युनिष्ट पार्टी पाँचौ र एक हजार ७९९ मतका साथ जसपा नेपाल छैठौं दल बनेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया