Listen LIVE

कपुरकोट अस्पतालमा स्वास्थ्य बिमा सेवा

सल्यान : यहाँको कपुरकोट आधारभूत अस्पतालले स्वास्थ्य बिमा सेवा उपलब्ध गराउने भएको छ ।  जिल्लामै पहिलो पटक पालिकाले सञ्चालन गरेको कपुरकोटमा आधारभूत अस्पतालले स्वास्थ्य बिमा सेवा उपलब्ध गराउने भएको हो । 

स्वास्थ्य बिमा वोर्ड र अस्पतालबीच स्वास्थ्य बिमा सञ्चालनबारे सभ्झौता भएको छ । सम्झौताअनुसार आउँदो भदौं १ गतेदेखि स्वास्थ्य बिमा सेवा लिन सकिने गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले वताए । उनका अनुसार कपुरकोटवासी मात्र नभएर पालिका बाहिरका नागरिकले पनि कपुरकोट आधारभूत अस्पतालबाट स्वास्थ्य बिमा सेवा पाउनेछन् । 

एकाघरका पाँच जनासम्म वार्षिक ३ हजार ५ सयमा स्वास्थ्य बिमा कार्यक्रममा आबद्धता पाउनेछन् । बिमा प्रिमियम तिरेका बिमितले वार्षिक १ लाख बराबरको स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सक्नेछन् । पाँच जनासम्मको परिवार वार्षिक ३ हजार ५ सयमा स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुन सक्छन् ।   परिवार सङ्ख्या पाँच जनाभन्दा बढी भएमा प्रतिव्यक्ति ७ सय थपेर बिमामा आबद्ध हुन सकिनेछ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भरतकुमार ओलीले अति गरिब सूचीमा समावेश र अति अशक्तता भएका व्यक्ति र ज्येष्ठ नागरिकको निःशुल्क बिमा गरिने बताए । उनका अनुसार महिला स्वास्थ्य स्वयंसेविकाको ५० प्रतिशत शुल्क छुट हुने व्यवस्था छ । 

नागरिकलाई स्वास्थ्य बिमामा आबद्ध गराउन प्रत्येक वडामा अभिकर्ताको ब्यवस्था गरिएको छ । कपुरकोट आधारभूत अस्पतालबाट अब भिडियो एक्सरे, एक्सरे, आधुनिक ल्याब सुविधा, फार्मेसी सेवा र घुम्ती विशेषज्ञ सेवासमेत उपलब्ध हुने र जसका लागि आवश्यक जनशक्ति र स्रोत साधनको व्यवस्थापन प्रक्रिया समेत अघि बढेको कपुरकोट गाउँपालिकाले जनाएको छ । 

कपुरकोट गाउँपालिका कुल जनसंख्या  १७ हजार ५ सय २६  छ । समयमै आफू र आफ्नो परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन सबैलाई गाउँपालिकाले आह्वान गरेको छ । सल्यान जिल्लाभरि १६ हजार नागरिकले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बिमा बोर्ड जिल्ला शाखा सल्यानका संयोजक लालबहादुर खड्काले बताए ।

प्रतिक्रिया