नेपालगञ्ज : निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरको उपस्थितिमा नेपालगञ्जमा भएको जिल्ला सुरक्षा समिति, बाँकेको बैठकले निर्वाचनलाई सफल बनाउन विभिन्न निर्णय गरेको छ ।
जिल्ला सुरक्षा समिति बाँकेका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले नेपालगञ्जको भ्रमणमा रहनुभएकी निर्वाचन आयोगका आयुक्त डा. तुलाधरलाई जिल्ला सुरक्षा समितिको बैठकमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न हालसम्म भएका तयारी र क्रियाकलापबारे जानकारी गराइएको बताए ।
उनले उक्त बैठकमा आयुक्त तुलाधरले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न आयोगबाट गरिएका प्रयास, भएका निर्देशन र व्यवस्थापनको जानकारी दिँदै सबै सुरक्षा निकायलाई जिम्मेवारीपूर्वक कार्य गरी सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन आग्रह गरेको बताए ।
यसैगरी, सोही बैठकमा जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाहरुको सुरक्षामा विशेष सतर्कता अपनाउने निर्णयसमेत गरिएको सुरक्षा समितिका अध्यक्ष तथा प्रजिअ तामाङले बताए ।
उनले बैठकमा हालसम्म बाँकेको सुरक्षा व्यवस्था हालसम्म सामान्य रहेको समीक्षा पनि गरिएको बताए । अहिलेसम्म निर्वाचनका सन्दर्भमा जिल्ला सुरक्षा समितिले गरेका काम, नीतिगत व्यवस्था र सुरक्षा रणनीतिका विषयमा पनि बैठकमा बिस्तृत छलफल भएको समितिले जनाएको छ ।
निर्वाचन आयोगका आयुक्त डा. तुलाधरको उपस्थिति र जिल्ला सुरक्षा समितिका अध्यक्ष तामाङको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा सुरक्षा समितिका सदस्यहरु नेपाली सेनाको बज्रदल गण राँझा बाँकेका प्रमुख सेनानी रामचन्द्र श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनाल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका अनुसन्धान निर्देशक हरिश बिष्ट र बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङको सहभागिता थियो ।
सोही प्रकारले बैठकमा आमन्त्रितका रुपमा जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीको पनि उपस्थिति थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार