Listen LIVE

अतिक्रमण हटाउन सडक डिभिजन कार्यालयको अल्टिमेटम

नेपालगञ्ज : नेपालगञ्जको सुर्खेतरोड भुजइगाउँदेखि पार्वतीपुरसम्मको सडक खण्डमा सडक सीमा अतिक्रमण हटाउन सडक डिभिजन कार्यालयले ७२ घण्टे अल्टिमेटम दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक डिभिजन कार्यालयले यसअघि सार्वजनिक सूचना जारी गर्दै दिएको १५ दिनको समयसीमा सकिएपछि सुरक्षा अधिकारीहरुसहित फिल्डमा पुगेको सरकारी टोलीले उक्त अल्टिमेटम दिएको हो ।

सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख नरेन्द्र प्रसाद भट्टले भुजइगाउँ–पार्वतीपुर सडकखण्डको स्तरोन्नति तथा सुधार कार्यका क्रममा सडकको केन्द्रदेखि दायाँबायाँ २५–२५ मिटर क्षेत्र सडक सीमाभित्र पर्ने संरचना भत्काउन दिईएको १५ दिनको समय सकिएकोले सडकमै पुगेर ७२ घण्टाभित्र हटाउन अल्टिमेटम दिएको बताए । उनले सडक सीमा खाली नगरे कानुनी कारबाही गरिने चेतावनीसमेत दिइएको जनाउँदै उक्त क्षेत्रमा निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना हटाउनुको विकल्प नरहेको बताए । 

यसअघि सडक डिभिजन कार्यालयले निकालेको सूचनामा तोकिएको समय सीमाभित्र सडक सीमा खाली नगरे सार्वजनिक सडक ऐन, २०३१ तथा प्रचलित कानुन बमोजिम सम्बन्धित संरचना हटाइने र त्यसबाट हुने क्षतिपूर्तिको दायित्व सम्बन्धित व्यक्ति स्वयंको हुने स्पष्ट पारेको थियो । 

सडक विस्तार कार्य प्रभावकारी बनाउन स्थानीय बासिन्दा, व्यवसायी, घरधनी तथा सरोकारवालालाई सहयोग गर्न आग्रह गरिएको जनाउँदै सडक डिभिजन कार्यालयले अटेरी गरेमा कानुनअनुसार गर्न बाध्य हुने जनाएको छ । 

कार्यालयका अनुसार सडक सीमा खाली गरिएपछि सुर्खेत रोडको स्तरोन्नति तथा सुधार कार्य तीव्र गतिमा अघि बढाइनेछ । उता, स्थानीयवासीले सिक्टा सिचाईंको नहरका लागि पर्याप्त क्षेत्रफल रहँदापनि सडकले जग्गा खाली गर्न खोजेको भन्दै सडक विस्तारका क्रममामात्रै यसरी अधिकारको प्रयोग गर्नुपर्ने गुनासो गरेका छन् । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक डिभिजन कार्यालय नेपालगञ्जले सार्वजनिक सूचना जारी गर्दै सडक विस्तार तथा सुधार कार्य अघि बढाउन सडक सीमा भित्र परेका संरचना, टहरा, पर्खाल, पसल, ढल, नाली लगायतका अवरोध हटाउन १५ दिने सूचना निकालेको थियो । 

सूचनाअनुसार भुजइगाउँ–पार्वतीपुर सडकखण्डको स्तरोन्नति तथा सुधार कार्यका क्रममा सडकको केन्द्रदेखि दायाँ–बायाँ २५–२५ मिटर क्षेत्र सडक सीमा भित्र पर्ने भएकाले उक्त क्षेत्रमा निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना हटाउनुपर्ने जनाइएको छ । 

यसअघि केही दिन पहिले मात्रै नेपालगञ्जको बिपी चोकबाट धम्बोझी चोकसम्मको सुर्खेत रोडमा सडक सीमा भित्र परेका संरचनाहरुलाई भत्काउन गरिएको आग्रह स्थानीयले नमानेपछि उपमहानगरपालकाले डोजर लगाएर भत्काएको थियो ।

प्रतिक्रिया