Listen LIVE

'विकास निर्माणमा स्थानीयको सहकार्य आवश्यक'

नेपालगञ्ज : लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले विकास निर्माणका कामलाई प्रभावकारी, गुणस्तरीय र समयमै सम्पन्न गर्न स्थानीय बासिन्दा तथा सरकारी निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।

बाँकेको कोहलपुर नगरपालिका–२ गौरीडाँडामा आयोजित स्थानीयवासीसँगको भेटघाट तथा छलफल कार्यक्रममा मन्त्री खत्रीले विकास निर्माणका कामप्रति स्थानीय बासिन्दा स्वयं चनाखो र जिम्मेवार बन्नुपर्नेमा जोड दिए । उनले आफ्नो घरआँगन र बस्तीमा सञ्चालन हुने विकास निर्माणका योजनाको गुणस्तर र प्रगतिबारे स्थानीयले चासो राखेमा योजनालाई प्रभावकारी रूपमा सम्पन्न गर्न सहज हुने बताए ।

मन्त्री खत्रीले भने, 'घर अगाडि हुने विकास निर्माणका काम समयमै र गुणस्तरीय ढङ्गले सम्पन्न गराउन स्थानीय बासिन्दा स्वयं चनाखो हुनुपर्छ, विकासका काम सरकारको मात्र जिम्मेवारी होइन, स्थानीय समुदायको पनि उत्तिकै भूमिका हुन्छ ।'

मन्त्री खत्रीले प्रदेश सरकारले ग्रामीण क्षेत्रको सडक पूर्वाधार तथा पुल निर्माणलाई प्राथमिकतामा राखेर काम अघि बढाइरहेको जानकारी दिए । चालु आर्थिक वर्षमा सञ्चालन हुने विकास योजनाको कार्यान्वयन प्रक्रिया अघि बढिसकेको उल्लेख गर्दै उनले योजनाको काम समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन र समन्वय गरिएको बताए ।

उनले सडक, पुल लगायतका भौतिक पूर्वाधार निर्माणमा बजेटको सीमितता रहे पनि नागरिकका आवश्यकता र प्राथमिकताका आधारमा योजना छनोट गरी विकासको पहुँच विस्तार गर्ने प्रयास भइरहेको बताए । प्रदेश सरकारको बजेट सीमित भएका कारण स्थानीयवासीका सबै माग एकैपटक सम्बोधन गर्न नसकिएको स्वीकार गर्दै उनले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै क्रमशः माग सम्बोधन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

मन्त्री खत्रीले विकास निर्माणका योजनामा नागरिकको सहभागिता र निगरानीले योजनाको गुणस्तर कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । निर्माण व्यवसायी, प्राविधिक, सरकारी निकाय र स्थानीय बासिन्दाबीच नियमित समन्वय भएमा विकास योजनामा देखिने समस्या समयमै समाधान गर्न सकिने उनको भनाइ थियो ।

भेटघाटका क्रममा स्थानीय बासिन्दाले सडक, पुल, खानेपानी, नाली तथा अन्य पूर्वाधारसँग सम्बन्धित समस्या र आवश्यकताबारे मन्त्री खत्रीलाई जानकारी गराएका थिए । स्थानीयका माग तथा समस्याबारे जानकारी लिँदै मन्त्री खत्रीले सम्भव भएसम्म प्रदेश सरकारको क्षेत्राधिकारभित्र पर्ने विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्ने बताए ।

यसै क्रममा मन्त्री खत्रीले बाँकेको बैजनाथ गाउँपालिकाका चिसापानी, डिगिया, तिलकपुरलगायतका क्षेत्रमा पुगेर स्थानीयवासीसँग विकास निर्माणका विषयमा छलफल गरेका थिए ।

स्थानीयवासीसँगको प्रत्यक्ष भेटघाटले विकासका वास्तविक आवश्यकता पहिचान गर्न तथा योजनाको कार्यान्वयनमा देखिएका समस्या बुझ्न सहयोग पुग्ने मन्त्री खत्रीले बताए । उदले प्रदेश सरकारबाट सञ्चालन हुने योजनाको प्रभावकारिता बढाउन स्थानीय तहसँग सहकार्यलाई प्राथमिकता दिइएको समेत स्पष्ट पारे ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य ढकालले पछिल्लो एक दशकमा नेपालले विकास निर्माणका क्षेत्रमा उल्लेखनीय फड्को मारेको बताए । सडक, पुल, विद्युत्, सञ्चार तथा अन्य भौतिक पूर्वाधारको विस्तारले नागरिकको जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याएको उनको भनाइ थियो ।

प्रतिक्रिया