रुकुमपश्चिम : रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१ सल्लेस्थित जिल्ला अस्पतालमा दैनिक बिरामीको चाप बढ्दै गएको छ । तर आवश्यक चिकित्सकको अभाव हुँदा बिरामी मर्कामा परेका छन् ।
स्वास्थ्य सेवा कार्यालयअन्तर्गतको यस अस्पतालमा वर्षायाम सुरु भएसँगै बिरामीको सङ्ख्या बढिरहेको छ । रुघाखोकी, ज्वरो, पखालालगायतका मौसमी फ्लुका बिरामीको सङ्ख्या बढेका बेला चिकित्सक अभावमा समयमै उपचार नपाएको बिरामीहरूले गुनासो गरेका छन् ।
विशेषज्ञसहित आठ जना चिकित्सकको दरबन्दी रहेको यस अस्पतालमा हाल तीन जना मात्र कार्यरत हुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत कालीबहादुर ओलीका अनुसार चार जना विशेषज्ञ र चार जना मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा हाल एक जना स्त्रीरोग विशेषज्ञ र एक जना मेडिकल अधिकृत मात्र कार्यरत छन् । अस्पतालले आन्तरिक कोषबाट थप एक जना हाडजोर्नी तथा नसामुकाम विशेषज्ञको व्यवस्था गरेको छ ।
जिल्लाको सबैभन्दा ठुलो अस्पतालमा दैनिक १५० भन्दा बढी बिरामी आउने गरेको जनस्वास्थ्य अधिकृत ओलीले जानकारी दिए । केही दिनयता अस्पतालका व्यवस्थापक तथा स्त्रीरोग विशेषज्ञ डा. जीवन परियार उपचारका क्रममा जिल्लाबाहिर रहेकाले एक जना मेडिकल अधिकृतका भरमा अस्पताल सञ्चालन भइरहेको छ ।
कर्णाली प्रदेशअन्तर्गत रहेको यस अस्पतालमा विगतमा सङ्घ तथा प्रदेशबाट छात्रवृत्ति करारका चिकित्सक आउने गरेका थिए । तर विगत दुई महिनायता ती सबै चिकित्सकको निर्धारित सेवा अवधि सकिएकाले जनशक्तिको अभाव भएको हो ।
सरकारी अस्पताल भनेर आशा बोकेर आउने कतिपय बिरामी चिकित्सकको जाँचबिनै सामान्य उपचार गराएर निजी अस्पताल जान बाध्य छन् । रुकुमपूर्वको सिस्ने गाउँपालिका–३ बाट उपचारका लागि आएका लक्ष्मण लामिछानेले बिरामीको चाप उच्च रहेका बेला एक जना मात्र मेडिकल अधिकृतको भरमा अस्पताल चलिरहेको बताए । उनका अनुसार एक जना मेडिकल अधिकृतले मात्रै दैनिक बिरामीको जाँच तथा उपचार धान्नुपर्ने अवस्था रहेकाले कतिपय बिरामी निराश भएर फर्कने गरेका छन् ।
त्यस्तै त्रिवेणी गाउँपालिकाबाट उपचार सेवा लिन आएकी नवीना पुनले पालो आउन घण्टौँ लाइन बस्नुपर्ने र त्यसपछि पनि डाक्टरलाई भेट्न मुस्किल भएपछि निजी क्लिनिकमा गएर उपचार गराएको बताइन् । बिरामीहरू लामो समयसम्म प्रतीक्षालयमै कुर्नुपर्ने अवस्था रहेको उनले उल्लेख गरिन् ।
अस्पताल प्रशासनका अनुसार समस्या समाधानका लागि प्रदेश सरकारसमक्ष दरबन्दीअनुसारका चिकित्सक माग गरिएको छ । साथै अन्य तीन जना चिकित्सकलाई आन्तरिक आम्दानीबाट व्यवस्थापन हुने गरी करार सेवामा राख्ने प्रक्रिया अगाडि बढाइएको छ ।
यस अस्पतालमा रुकुमपश्चिमका साथै छिमेकी जिल्ला रुकुमपूर्व, सल्यान, जाजरकोट, डोल्पा र रोल्पाबाट समेत सेवाग्राही आउने गरेका छन् । १५ शय्याका लागि स्वीकृत दरबन्दी रहेको यस अस्पतालले हाल करिब ४० शय्याबाट उपचार सेवा दिइरहेको कार्यालयले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार