Listen LIVE

चितुवाको आक्रमणबाट बर्दियामा ६ महिनामा ४ जनाको मृत्यु

बर्दिया : बर्दियामा यस चालु आर्थिक वर्षको साउनदेखि पुस २ गतेसम्म चार जनाको ज्यान गइसकेको छ । बुधबार दिउँसो बारबर्दिया नगरपालिका–१० डफैयाका दिनेश थारुको चितुवाको आक्रमणमा परी मृत्यु भयो ।

त्यसै गरी बारबर्दिया–११ कालावेलभार सामूदायिक वनमा मंसिर १२ गते घाँस काटिरहेको अवस्थामा चितुवाको आक्रमणमा गोपी थरुनीको मृत्यु भयो । यसै गरी साउन ३० गते गुलरिया–१२ भैसाहीमा चितुवाको आक्रमणमा जगत रानी थारुको मृत्यु भयो ।

गुलरिया–१२ टडुवामा गत भदौ २९ गते कविता मुक्तान पनि चितुवाको आक्रमणमा मृत्यु भएको डिभिजन वन कार्यालय, बर्दियाका वरिष्ठ वन अधिकृत गोपाल चौधरीले बताए । सोही अवधिमा सात जना चितुवा र एक जना पाटे बाघको आक्रमणमा घाइते भएको उनले जनाए ।

बर्दिया वन कार्यालय आसपासमा अहिले चितुवाको आतंकले स्थानीय त्रसिद भएका छन् । चितुवाका कारण खेत र घास काटन वनमा जान त्रसिद भएको बारबर्दिया–४ का राधेश्याम थारु बताउँछन् । वन कार्यालयले यस आवमा २ वटा चितुवालाई नियन्त्रणमा लिएको छ ।

गत अवमा एउटा चितुवा नियन्त्रणमा लिएको थियो । चितुवा नियन्त्रणमा लिए पनि खोर नहुँदा बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा छाडिएको छ । चितुवाका लागि खोर बर्दियामा नभएको बर्दिया निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत सरोजमणी पौडेलले बताए ।

नियन्त्रणमा लिएका चितुवा पुनः बर्दिया निकुञ्जमा छाड्नुपर्ने बाध्यता रहेको उनले जनाए । वनमा छाडिएका समस्याग्रस्त चितुवा पुनः बस्तीमा छिर्ने गरेकोले जोखिम बढदै गएको स्थानीय बताउँछन् ।

चितुवा नियन्त्रण लिने काम भए पनि यस्को व्यवस्थापन गर्न चुनौती रहेको डिभिजन वन कार्यालयको छ ।

जिल्ला वन प्रमुख विजय राज सुवेदीले निकुञ्जले नियन्त्रणमा लिएको चितुवा लिन गाहृो मान्ने गरेको बताए । डिभिजन वन कार्यालयसँग चितुवा राख्ने खोर र बजेटको अभाव भएको वनका कर्मचारी बताउँछन । बर्दिया निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत पौडेलले नियन्त्रणमा लिएर आएका चितुवा लिएर निकुञ्जको वनमा पठाउने गरेको बताए ।

समस्याग्रत बाघका लागि खोर र बजेट भएकोले चितुवाका लागि पनि व्यवस्था सरकारले गर्नुपर्ने वनका कर्मचारी बताउँछन् । सामूदायिक वनमा जनचेतना फैलाउन सके चितुवाबाट जोगिन सकिने राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाका प्रमुख अजित तुम्फा हाम्फेले बताए ।

‘विगतमा बर्दिया निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणका घटना अहिले न्यून भएको छ,’ उनले भने, ‘न्यूनीकरण हुनु जनचेतनाका कारणले भएको हो । बर्दियामा चितुवाको संख्याको तथ्यांक वन र निकुञ्जसँग छैन ।’

प्रतिक्रिया