हुम्ला : रसुवाको भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका हुम्लाको ताँजकोट गाउँपालिका–२ का नवकुल शर्माको शव भेटिएको छ । रसुवा भन्सार कार्यालयमा भन्सार अधिकृतका रूपमा कार्यरत शर्मा भदौ १० गते बिहान बाढी आएदेखि सम्पर्कविहीन थिए ।
गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टि भएपछि आफन्तले बुझेका छन् । गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले प्रादेशिक अस्पताल गोरखामा राखिएको शव ताँजाकोट गाउँपालिका–२, कट्टेलगाउँ निवासी नरप्रसाद शर्माका छोरा नवकुल शर्माको भएको पुष्टि गरे ।
नदी किनारमा मृत अवस्थामा फेला परेको शवको शारीरिक बनावट, अनुहार, दाह्री तथा कपाल, हातको बुढीऔँलामा रहेको पुरानो खत र दाँतको बनावटलगायतका आधारमा शवको पहिचान गरिएको हो । पहिचान खुल्ने विभिन्न चिन्हका आधारमा शवको सनाखत गरी आफन्तलाई बुझाइएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।
शव पहिचान भएपछि जेठान नाता पर्ने जुम्लाको कनकासुन्दरी गाउँपालिका–८, सन्माल टोल निवासी ४१ वर्षीय गणेशप्रसाद सञ्ज्यालसहितले सनाखत गरेको उनले बताए । कानुनी प्रक्रिया पूरा गरी शव काठमाडौँ लगेर आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको जनाइएको छ ।
घरपरिवार र जिल्ला प्रशासन कार्यालयले खोजीका लागि विभिन्न स्थानमा सूचना गरेका बेला शर्माको शव त्रिशूली नदी किनारमा भेटिएको उनका भतिज लीलाराज शर्माले बताए । यसअघि शर्माकी श्रीमती सङ्गीता शर्मा आचार्य र भाइ टङ्कप्रसाद शर्माले चितवन, नवलपरासी, गोरखा र पोखरा पुगेर खोजी गरे पनि उनको अवस्था पत्ता लाग्न सकेको थिएनन् ।
शर्मा भदौ ९ गते रसुवा भन्सार कार्यालयमा सरुवा भई हाजिर भएका थिए । खोजीका लागि उनका बुवा नरप्रसाद शर्मा पनि हुम्लाबाट काठमाडौँ पुगेका थिए । यसअघि शर्मा इलाम जिल्लाको पशुपतिनगर भन्सार कार्यालयमा कार्यरत थिए । मृतक शर्माका बुवा, आमा, श्रीमती र दुई छोरा छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार