Listen LIVE

सुर्खेत अस्पतालमा बिरामीको अत्यधिक भिड

सुर्खेत : सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल कालागाउँमा दैनिक बिरामीहरूको अत्यधिक भिड लाग्ने गरेको छ। कर्णाली प्रदेशको विभिन्न दुर्गम जिल्लाका साथै छिमेकी जिल्लाबाट उपचारका लागि आउने बिरामीहरूको संख्या दिन प्रतिदिन बढ्दै गए पनि अस्पतालले प्रदान गर्ने सेवाप्रति भने बिरामी तथा बिरामीका आफन्तहरू असन्तुष्ट बनेका छन्।

अस्पतालको टिकट काउन्टर, स्वास्थ्य बीमा दर्ता काउन्टर तथा सोधपुछ कक्ष वरपर बिहानैदेखि सेवाग्राहीको लामो लाइन देखिन्छ। काउन्टर व्यवस्थापन र टोकन प्रणाली प्रभावकारी नहुँदा टाढा–टाढाबाट आएका बिरामीले घण्टौँसम्म लाइनमा उभिनुपर्ने बाध्यता रहेको छ। 

कालीकोट तिलागुफाका रमेश चदराले  बिहानै ६ बजेदेखि लाइनमा बसेको तर १० वजेर २३ मिनेट जादासम्म पनि टिकट पाउन नसकेको बताए ।  बिरामीलाई लामो समय लाइनमा राख्दा स्वास्थ्य अबस्था झन जटिल हुने डर छ, रमेशले भने। 

सेवाग्राहीले बीमा दर्ता र सर्वसाधारणको टिकट काट्ने काउन्टरमा सोचेभन्दा ढिलो काम हुँदा भिड अस्वाभाविक रूपमा बढेको गुनासो गरेका छन्। काउन्टरबाट टिकट पाए पनि सम्बन्धित चिकित्सकसम्म पुग्न र परीक्षण गराउन दिनभरजसो समय खर्चिनु परेको छ । 

यस्तै, प्रयोगशाला परीक्षण र भिडियो एक्स–रे गराउनका लागि पुनः अर्को लामो लाइन बस्नुपर्ने र रिपोर्ट आउन निकै समय लाग्ने गरेको बिरामीको गुनासो छ । बिरामीको चापको अनुपातमा पर्याप्त स्वास्थ्यकर्मी र काउन्टर कर्मचारी नहुँदा पनि सेवा चुस्त हुन नसकेको एकथरी सेवाग्राहीको गुनासो छ। 

यता, अस्पताल प्रशासनले भने कर्णाली प्रदेशकै ठूलो र प्रेषण केन्द्र भएकाले क्षमताभन्दा बढी बिरामीको चाप हुने गरेको जनाएको छ। अस्पतालका प्रशासन शाखा प्रमुख सूचना अधिकारी उपसचिव अनिता ज्ञवालीले पछिल्लो समय स्वास्थ्य बीमा लागू भएपछि र दूरदराजका बिरामीहरू पनि यही आउन थालेकाले भिड व्यवस्थापनमा केही चुनौती थपिएको बताइन् । 

ज्ञवालीका अनुसार बिरामीलाई सहज र छरितो सेवा दिनका लागि अतिरिक्त काउन्टर थप गर्ने, टोकन प्रणालीलाई थप व्यवस्थित बनाउने र प्रविधिको प्रयोग बढाउने विषयमा छलफल भइरहेको छ। तथापि, कर्णालीका सर्वसाधारणले अझै पनि आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्न सास्ती भोग्नुपर्ने अवस्था रहनुले प्रदेशको स्वास्थ्य क्षेत्रमा तत्काल थप पूर्वाधार र जनशक्ति व्यवस्थापनको आवश्यकतालाई प्रष्ट पारेको छ।

प्रतिक्रिया