नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले हुन्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गरेको छ । प्रहरीले नेता शेखलाई पार्टीको कार्यक्रमका लागि कपिलवस्तु जाने क्रममा दाङ जिल्लाको अमिलियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिपक पातलीले जानकारी दिए ।
उनलाई नेपाल राष्ट्र बैङ्कको वित्तीय जानकारी इकाई, बालुवाटार काठमाडौँबाट प्राप्त जाहेरीका आधारमा दर्ता भएको मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाउन डुडुवा गाउँपालिका–६ सुब्बापुर्वाका ४० वर्षीय नेता शेखलाई पक्राउ गरिएको हो । प्रहरी नायब उपरीक्षक पातलीका अनुसार अनुसन्धानका क्रममा चार करोड ९२ लाख ८४ हजार २९६ रुपैयाँ बराबरको शङ्कास्पद हुन्डीमार्फत अवैध आर्थिक कारोबार गरेको देखिएको छ ।
केवाइसी विवरणमा उल्लेख गरिएको अनुमानित वार्षिक आम्दानी र वास्तविक कारोबार बिच ठूलो अन्तर देखिएपछि उक्त गतिविधि हुन्डी तथा सम्पत्ति शुद्धिकरण (मनी लाउन्ड्रिङ) सँग सम्बन्धित हुनसक्ने आशङ्कामा थप छानबिन आवश्यक ठानिएको प्रहरीले जनाएको छ । सोही मुद्दामा कोहलपुर नगरपालिका–१४ का विष्णु खटिकसमेत संलग्न रहेको आशङ्कामा समानान्तर रूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अध्ययनका क्रममा दुवै जनाको बैंक खातामा ठूलो रकमको टर्नओभर देखिएको र खातामा जम्मा हुने नगदै रकम तुरुन्तै विद्युतीय माध्यमबाट विभिन्न व्यक्ति एवम् संस्थाहरूमा रकमान्तर हुने गरेको फेला परेको प्रहरीको भनाइ छ । पक्राउ परेका शेष यसअघि जनमत पार्टीमा संलग्न थिए । उनले गत प्रतिनिधिसभाको निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका उनी यसपटक राष्ट्रिय जनमत पार्टी खोलेर फेरि पनि निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा लागेको बताइएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार