Listen LIVE

प्राविधिक विश्वविद्यालयलाई एजेण्डा बनाउँदै बाँकेका सांसद

नेपालगञ्ज : लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आगामी सोमबार बस्दैछ । यसपटकको हिउँदे अधिवेशनमा बाँकेका प्रदेश सभा सदस्यहरुले लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा प्राप्तिको विषयलाई आफ्नो प्रमुख एजेण्डाको रुपमा बनाउने बताएका छन् ।

लुम्बिनी प्रदेशको गौरवको योजनाको रुपमा रहेको लुम्बिनी प्राविधिक विश्वविद्यालयले हालसम्म जग्गा प्राप्त गर्न नसक्दा भाडाको घरमा बसेर अध्यापन गराइरहेको छ ।

बाँकेको खजुरामा यसअघि प्राविधिक विश्वविद्यालय स्थापना गर्ने भनेर निर्णय भएको छ । तर स्थापनाको तीन वर्ष पूरा हुन लाग्दासमेत विश्वविद्यालय भाडाको घरमा बसेर आफ्नो सेवा सञ्चालन गरिरहेको छ । हाल नेपालगञ्ज धम्बोझीस्थित कृषि विकास बैंकको कार्यालय परिसरलाई मासिक तीन लाख ५० हजार रुपैयाँ भाडा तिरेर विश्वविद्यालयले कक्षा र कार्यालय सञ्चालन गरिरहेको छ ।

विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको प्रदेश सरकारले जग्गा प्राप्ति प्रक्रियामा चाँसो नदिँदा विश्वविद्यालयले हालसम्म जग्गा पाउन सकेको छैन । लुम्बिनी प्रदेश सभा सदस्य एवम् निवर्तमान सामाजिक विकास मन्त्री रत्न खत्रीले अब यो विषयमा प्रदेशले निर्णय गरेर टुङ्ग्याउन आफ्नो प्राथमिकता रहने बताए ।

‘‘विश्वविद्यालयलाई दिने निर्णय भएको जग्गा प्रदेशले भोगाधिकार गर्न दिनुप¥यो,’’ सांसद खत्रीले भने, ‘‘प्रदेशको गौरवमय योजनालाई छोडन पाइँदैन भन्ने प्राथमिकतामा रहन्छ ।’’ हिँउदे अधिवेशनमा यो विषयमा प्रदेशबाट गर्नुपर्ने कार्य तत्काल गर्नुपर्ने आफ्नो माग रहने सांसद खत्रीको भनाइ छ ।  

बाँकेमा स्थापना भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको दिगो व्यवस्थापनका लागि बाँकेका अन्य प्रदेश सभा सदस्यले पनि आवाज उठाउने बताउनुभएको छ । स्थापना भएको वर्ष बिते पनि लुम्बिनी प्राविधिक विश्वविद्यालयको दिगो व्यवस्थापन हुन सकेको छैन ।

दिगो व्यवस्थापन हुन नसक्दा विश्वविद्यालयले आफ्ना कार्यक्रम सञ्चालनका लागि मात्रै वार्षिक करिब आधा करोड रकम खर्च गर्न बाध्य छ । प्रदेश सरकारको ढिलासुस्तीका कारण लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा प्रक्रिया रोकिएको छ । विश्वविद्यालय दिगो व्यवस्थापन हुनुपर्छ भनेर प्रदेश सभा बैठकमा यस विषयलाई उठान गर्ने सांसदले बताएका हुन् ।

प्रदेश सभा सदस्य एवम् निवर्तमान वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले यो विषयमा क्याबिनेट–सिनेटको निर्णय चाहिने भएकाले उनहरुले यस्ता रोकिएको विषयमा निर्णय गर्नुपर्ने आफ्नो जोड रहने बताए । ‘‘शैक्षिक कार्यक्रम सञ्चालनका लागि विश्वविद्यालयले भाडा तिररहेको छ,’’ उनले भने, ‘‘सधैं त यसरी भाडा तिरेर विश्वविद्यालय सञ्चालन गर्न पनि प्रदेशलाई गाह्रो हुन्छ, सधैँ भाडा बस्न सम्भव हुँदैन ।’’

विश्वविद्यालयलाई दीर्घकालीनरुपमा व्यवस्थापनको गर्न दिइने भनिएको र अधिग्रहण हुन नसकेको जग्गाका लागि प्रदेशका मुख्यमन्त्री, शिक्षा मन्त्रीसँग आवश्यक कदम बढाउन अनुरोध गर्ने सांसद कुर्मीले बताए । ‘‘विकास निर्माणको पक्षमा जहिले पनि मेरो साथ रहेकाले विश्वविद्यालय दिगो सञ्चालनका लागि म पक्षमै छु,’’ उनले भने, ‘‘यहाँ आएको गौरवको योजनाले छिटोभन्दा छिटो पूर्णता पाउनुपर्छ भन्ने चाहन्छु र यो कुरा सभामा उठाउने पनि छु ।’’

यसैगरी, लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले लामो समयदेखि विश्वविद्यालयको जग्गाको विषय अड्किएको भन्दै यो पटकको सभामा यो विषयमा सम्बोधन गराउन पहल गर्ने बताइन् । उनले बाँकेमा स्थापना गरिएको विश्वविद्यालयले यस क्षेत्रका साथै अन्य प्रदेशका विद्यार्थीलाई फाइदा पुग्ने भएकाले छिटोभन्दा छिटो रोकिएको निर्णय हुनुपर्ने माग रहने बताइन् । 

लुम्बिनी प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री शङ्कर पोखरेल नेतृत्वको सरकारले लुम्बिनी प्रादेशिक विश्वविद्यालय बाँके खजुरामा स्थापना गर्ने निर्णय गरेको थियो । तत्कालीन सरकारले विश्वविद्यालय सञ्चालनका लागि बाँकेमा विश्वविद्यालयका कार्यालयसमेत स्थापना गरेर कार्य सञ्चालन गरेको छ ।

विश्वविद्यालय सञ्चालनका लागि आवश्यक जग्गाको खोजी पनि त्यही समय गरियो । सो क्रममा बाँकेको खजुरामा आवश्यक सय बिघा जग्गा विश्वविद्यालयलाई दिने भनेर सहमतिपछि खजुरा गाउँपालिकाले प्रदेश सरकारलाई सिफारिस ग¥यो र तत्कालीन सरकारले विश्व विद्यालयका लागि आवश्यक जग्गाको लागि प्रक्रिया सुरु गरेको थियो । त्यसलगत्तै गाउँपालिकाले सिफरिस गरेको निर्णय अनुसार सङ्घलाई एक सय बिघा जमिन दिने निर्णय पठाइयो । तर सय बिघा दिन नमिल्ने भएपछि ५० बिघा जग्गाको निर्णय गर्न सङ्घले प्रदेशलाई आदेश दिइसकेको छ ।

वर्तमान सरकारको चाँसोको विषय बन्न नसकेकै कारण यो प्रक्रियाले अन्तिम रुप पाउन सकेको छैन । यता विश्वविद्यालयले जग्गा प्राप्त गर्न नसक्दा आफ्नो शैक्षिक कार्यक्रम भाडामा घर लिएर सञ्चालन गरिरहेको छ । जिल्लाको खजुरा गाउँपालिका वडा नम्बर ८ मा विश्वविद्यालयलाई दिइएको जग्गा प्राप्तिका लागि प्रदेश सरकारले निर्णय गर्न ढिलाइ गरिरहेको छ । २०७९ पुस २२ गतेको निर्णयबाट खजुरामा विश्वविद्यालयको कार्यालय स्थापना गरेर कार्यक्रम सञ्चालन गर्ने कार्यको शुरुवात गरिएको थियो । 

खजुरामा दिइएको जग्गा प्राप्तिमा ढिलाइ भएपछि शैक्षिक कार्यक्रमहरु भाडाको घरमा बसेर सञ्चालन गर्नुपर्ने बाध्यता रहेको विश्वविद्यालयका रजिष्ट्रार रेग भण्डारीले बताए । विश्वविद्यालय सञ्चालनका लागि भनेर खजुरा गाउँपालिकाको कार्यालयले आफ्नो प्रशासनिक भवन विश्वविद्यालयलाई दिइसकेको छ । खजुरा–८ चमकदारपुर बाटोको पश्चिमतर्फ जग्गा दिने गाउँपालिकाले सिफारिस गरेको छ ।

तर विश्वविद्यालयले जग्गा नपाएपछि शैक्षिक कार्यक्रम सञ्चालनका लागि वार्षिक ४८ लाख रकम भाडा तिरेर पठनपाठन सञ्चालन गर्न बाध्य छ । विश्वविद्यालयले नेपालगन्ज धम्बोझीस्थित कृषि विकास बैंकको क्षेत्रीय कार्यालयको भवन पाँच वर्षका लागि मासिक भाडावापत तीन लाख ५० हजार रुपैयाँ विश्वविद्यालयले तिर्नुपरिरहेको छ । भाडाबापत विश्वविद्यालयले तीन वटा भवनको प्रयोग गरेको छ ।

प्रतिक्रिया