Listen LIVE

सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य

काठमाण्डौ : सुदूरपश्चिम प्रदेशसभाको चालू अधिवेशन अन्त्य गरिएको छ।

हिजो बसेको प्रदेश मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार प्रदेश प्रमुख नजिर मियाँले गएराति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गरेका हुन्। अधिवेशन अन्त्य भएसँगै सरकारले बजेट शून्यताको अवस्थामा राजस्व संकलन गर्न पाउने गरी अध्यादेश ल्याउने तयारी गरेको छ ।

त्यसका लागि तयार पारिएको सुदूरपश्चिम सामूहिक करसम्बन्धी अध्यादेश, २०८१ को मस्यौदा हिजोको मन्त्रिपरिषद् बैठकमा पेस गरिएको छ । प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सरकारले राजस्व संकलन गर्ने बाटो खुल्ने गरी आज अध्यादेश ल्याउने तयारी रहेको बताए।

प्रदेश सभाबाट बजेट पारित हुन नसक्दा चालू आर्थिक वर्षको पहिलो दिनबाटै प्रदेशमा बजेट शून्यताको अवस्था छ । प्रदेशको राजस्व संकलन ठप्प छ भने खर्च गर्न पाएको छैन । अर्को व्यवस्था नभएसम्मका लागि गत आर्थिक वर्षकै दरअनुसार कर संकलन गर्ने व्यवस्थासहित अध्यादेश ल्याउन लागिएको मन्त्री थापाले जानकारी दिए।

प्रतिक्रिया