Listen LIVE

तेइस जना सकुशल घर फर्केपछि परिवारमा खुशी

बर्दिया : रसुवामा गत भदौ १० गते आएको बाढीमा परेर सम्पर्कविहीन बनेका बर्दियाका २३ जना सकुशल घर फर्किएपछि परिवारमा खुशी छाएको छ । रोजगारीका लागि रसुवा पुगेका उनीहरू बाढीपछि लामो समय सम्पर्कविहीन हुँदा परिवारजन चिन्तित बनेका थिए ।

बर्दियाबाट रोजगारीका लागि रसुवा पुगेका २५० जनामध्ये हालसम्म ११९ जना सम्पर्कमा आएका छन् । तीमध्ये ५३ जना घर फर्किसकेका छन् भने दुई जनाको अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । अझै ७६ जना सम्पर्कविहीन छन् । सम्पर्कमा नआएका ७६ जनामध्ये सबैभन्दा बढी बारबर्दिया नगरपालिकाका २७ जना छन् । रसुवाका विभिन्न जलविद्युत् आयोजनामा काम गर्न पुगेका बारबर्दियाका २३ जना सकुशल घर फर्किएपछि उनीहरूका परिवारमा खुशी छाएको छ ।

बारबर्दिया नगरपालिका कुसुमडाँडाका कृष्णप्रसाद चौधरीले बाढीबाट बल्लतल्ल ज्यान जोगाएर घर फर्किएको बताए । कुसुमडाँडाका राजकुमार चौधरीले सुरुङबाहिर काम गरिरहेका बेला साथीले बाढी आएको जानकारी दिएपछि भागेर ज्यान जोगाउन सफल भएको बताए ।

रसुवाबाट आफ्ना नागरिक सकुशल फर्किएपछि परिवारजनमा खुशी छाएको बारबर्दिया नगरपालिकाले जनाएको छ । नगरप्रमुख छविलाल थारूले अझै सम्पर्कविहीन रहेका नगरवासीको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको बताए ।

बर्दियाका आठ स्थानीय तहमध्ये गुलरिया नगरपालिकाका दुई, मधुवन नगरपालिकाका एक, राजापुर नगरपालिकाका ११, ठाकुरबाबा नगरपालिकाका १०, बारबर्दिया नगरपालिकाका २७, बाँसगढी नगरपालिकाका १२, गेरुवा गाउँपालिकाका १३ र बढैयाताल गाउँपालिकाका एक जना गरी ७६ जना अझै सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बाढीमा परेका बर्दियालीमध्ये ४९ जनाको अवस्थाबारे अहिलेसम्म यकिन जानकारी प्राप्त हुन सकेको छैन । बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बाढी प्रभावित क्षेत्रमा रहेका बर्दियालीको खोजीका लागि सम्बन्धित निकायसँग नियमित सम्पर्क भइरहेको बताए ।

प्रतिक्रिया