काठमाण्डौ : ११ जुलाई २००६ मा मुम्बईको लोकल ट्रेनमा भएको सात विष्फोटको घटनामा बम्बइ उच्च अदालतले १९ वर्षपछि फैसला सुनाएको छ । अदालतले १२ जनालाई निर्दोष मान्दै सफाइ दिएको छ । यसअघि पाँच जनालाई विशेष अदालतले फाँसी र अन्यलाई जन्मकैदको सजाय सुनाएको थियो ।
अभियोजन पक्षले उनीहरुविरुद्ध लागेको आरोप प्रमाणित गर्न नसकेको भन्दै उच्च अदालतले सफाइ दिएको हो । उक्त दुर्घटनाको करिब दुई दशकपछि यो फैसला भएको हो । मुम्बईको लोकल ट्रेनमा भएको दुर्घटनामा सयौंले ज्यान गुमाएका थिए ।
उच्च अदालतमा न्यायाधीश अनिल किलोर र श्याम चान्दकको विशेष इजलासले अभियोजन पक्षले यस घटनामा आरोपीविरुद्ध दोष प्रमाणित गर्न असमर्थ रहेको जनाएको छ । अदालतले प्रमाण र साक्षीको बयानमा कैयौं कमी रहेकाले यो अभियोजन पनि कमजोर रहेको दाबी गरेको छ ।
अदालतले उक्त घटना हुँदा बखत त्यहाँ रहेका ट्याक्सी चालक र ट्रेनमा सवार यात्रीका लागि घटनाको एक सय दिनपछि आरोपीबारे याद हुनु मुस्किल रहेको तर्क गरेको छ । यति लामो समयपछि दिइएको बयानमा पनि विश्वास गर्न नसकिने अदालतको दाबी छ ।
यसबाहेक बम, बन्दुक, नक्साजस्ता प्रमाणलाई अदालतले खारेज गरिदिएको छ । उक्त विष्फोटमा कस्तो प्रकारको बम प्रयोग गरिएको थियो भन्ने कुरा अभियोजन पक्षले प्रमाणित गर्न नसकेको भन्दै अदालतले बरामद भएका प्रमाणलाई घटनासँग सम्बन्धित मान्न नसकिने तर्क गर्दै खारेज गरेको हो ।
उक्त घटनामा १८९ जना मारिएका थिए भने ८२४ जना घाइते भएका थिए । यी विस्फोट उपनगरीय ट्रेनको पहिलो दर्जाको डिब्बामा राखिएको बमद्वारा गरिएको थियो ।
के हो मुम्बई बम ब्लास्ट?
११ जुलाई २००६ को साँझ मुम्बईको लोकल ट्रेन यात्रीले खचाखच भरिएका थिए । त्यहीसमय एकपछि अर्को गर्दै लगातार सात ठाउँमा आरडीएक्सले भरिएका बम विस्फोट भए ।
यी विष्फोट खार–सान्ताक्रूज, बान्द्रा–खार, जोगेश्वरी, माहिम, मीरा रोड–भायन्दर, माटुंगा–माहिम र बोरीवलीमा भएका थिए । मात्र ११ मिनेटको अवधिमा भएका यी विष्फोटले पूरै शहरमा भयावह स्थिति निम्त्याएको थियो । पहिला सात भिन्न भिन्न उजुरी दर्ता भएकामा पछि यो विषयलाई एटीएस (एन्टी टेरेरिजम स्क्वाड)को जिम्मा लगाइएको थियो ।
एटीएसले गैरकानुनी गतिविधि निवारण अधिनियम अन्तर्गत निवेदन दर्ता गरेको थियो । सन् २०१५ मे १२ मा महाराष्ट्र कन्टोल अफ अर्गनाइजेशन क्राइम्स एक्टको विशेष अदालतले पाँच जनालाई फाँसी र अन्यलाई जन्मकैदको सजाय सुनाएको थियो ।
तर एक जना वाहिद शेखलाई पनि सफाइ दिइएको थियो । अहिले उच्च अदालतले बाँकी १२ जनालाई पनि निर्दोष प्रमाणित गर्दै सफाइ दिएको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार