Listen LIVE

लुम्बिनीका ३४ पालिकामा रास्वपाको अधिवेशन सम्पन्न

नेपालगञ्ज : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले पालिका अधिवेशनलाई तीव्रता दिने क्रममा लुम्बिनी प्रदेशका ३४ वटा पालिकामा अधिवेशन सम्पन्न गरेको छ।

रास्वपाका केन्द्रीय सङ्गठन विभाग सदस्य गोपाल घिमिरेका अनुसार आज पनि प्रदेशका करिब एक दर्जन पालिकामा अधिवेशन जारी छ।

उनले अधिवेशनको मिति तोकिएका स्थानीय तहमा नयाँ नेतृत्व  चयन हुने बताए। कतिपय स्थानमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको तथा केही स्थानमा मतदान प्रक्रियासमेत हुन सक्ने उनले बताए।

उनका अनुसार लुम्बिनी प्रदेशका चार उपमहानगरपालिकामध्ये तीन वटामा नेतृत्व चयन भइसकेको छ। हालसम्म सम्पन्न अधिवेशनमध्ये रुपन्देहीका ९, नवलपरासी पश्चिमको १, कपिलवस्तुका ५, दाङका २, बाँकेका ६, बर्दियाका ४, रोल्पाको १, गुल्मीका ४ र पाल्पाका २ वटा पालिकामा अधिवेशन सम्पन्न भएका छन्।

यस्तै बुटवल उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकामा नयाँ नेतृत्व चयन भइसकेको छ भने घोराही उपमहानगरपालिकाको अधिवेशन हुन बाँकी रहेको घिमिरेले बताए।

उनले हालसम्म सम्पन्न अधिवेशनमध्ये करिब एक दर्जन पालिकामा मतदान प्रक्रियाबाट नेतृत्व चयन गरिएको र अन्य स्थानमा सर्वसम्मत नेतृत्व चयन भएको जानकारी दिए।

रास्वपा लुम्बिनी प्रदेश उपाध्यक्ष सलिक राम घिमिरेले सबै पालिकामा अधिवेशन सम्पन्न भएपछि जिल्ला अधिवेशन र त्यसपछि प्रदेश अधिवेशन गर्ने तयारी भइरहेको बताए।

प्रतिक्रिया