काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नेकपा एमालेले आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ । प्रतिनिधि सभामा आइतबार ओलीले विश्वासको मत लिँदा पक्षमा मतदान गर्न एमालेले सांसदलाई ह्वीप जारी गरेको हो ।
प्रतिनिधि सभामा रहेका आफ्ना सबै सांसदलाई पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । प्रतिनिधि सभामा एमालेका ७९ सांसद छन् । जसमध्ये देवराज घिमिरे सभामुख छन, उनलाई दलीय ह्वीप लाग्दैन ।
भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका टोपबहादुर रायमाझी निलम्बनमा छन् । यसर्थ एमालेसँग प्रतिनिधि सभामा मतदानयोग्य ७७ मत छन् । २७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीलाई विश्वासको मत पाउन १३८ मत आवश्यक पर्छ । एमाललेलाई ८८ मत रहेको नेपाली कांग्रेसले मतदान गर्दा सहजै बहुमत जुट्ने अवस्था छ ।
ओली सरकारलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि सरकारमा रहेकाले विश्वासको मत दिने भएका छन् । यसैगरी जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिनसक्ने सम्भावना रहेको छ ।
त्यस्तै ३२ सिट रहेको नेकपा (माओवादी केन्द्र), २१ सिटको राष्ट्रिय स्वतन्त्र पार्टी र १० सिटको नेकपा एकीकृत समाजवादीले विपक्षमा मत दिने तयारी गरेको बताइएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार