Listen LIVE

बाँके–३ मा सबै नयाँ उम्मेदवार, कसले मार्ला बाजी

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका दुई वटा वडासहित जानकी, खजुरा र बैजनाथ गाउँपालिका समेटिएको क्षेत्र नम्बर–३ मा यसपलि सबै नयाँ अनुहार प्रतिस्पर्धामा छन्। यहाँ स्थानीय र बाहिरी जिल्लाका आगन्तुक (टुरिष्ट) उम्मेदवार भन्ने आरोप–प्रत्यारोप चलिरहेका छन्।

२०७९ को चुनावमा यहाँबाट माओवादीसहितको गठबन्धनबाट नेपाली कांग्रेसका किशोरसिंह राठौर निर्वाचित भएका थिए। उनले २९ हजार ४० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका किस्मतकुमार कक्षपतिले २४ हजार २४७ मत ल्याएका थिए। स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले ७ हजार ४४६ मत ल्याएका थिए।

२०७४ मा एमालेका नन्दलाल रोकायले ३१ हजार ६०१ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका बादशाह कुर्मीले २६ हजार ६१७ मत ल्याएका थिए। २०७० को स्थानीय चुनावमा तीनवटै पालिका एमालेले जितेको थियो।

२०७९ मा कांग्रेस–माओवादी गठबन्धनबाट बैजनाथ र जानकीमा कांग्रेस र खजुरा गाउँपालिकामा माओवादीले जितेको छ। यसपलिको चुनावमा दलहरू एकल प्रतिस्पर्धामा छन्। अझ सबै उम्मेदवार नयाँ छन्।

नेपाली कांग्रेसबाट अमरसिंह पुन, एमालेबाट सुमन मल्ल, स्वतन्त्र पार्टीबाट खगेन्द्र सुनार, नेपाली कम्युनिस्ट पार्टीबाट दिपक जीएमलगायत २२ जना उम्मेदवार छन्। कांग्रेसका पुन रोल्पा निवासी हुन्। उनी कांग्रेसको लुम्बिनी प्रदेश सभापति हुन्।

एमालेका मल्ल खजुरा निवासी हुन्। उनी २०७४ मा खजुरा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष थिए। मल्ल २०७९ को चुनावमा कांग्रेस(माओवादी गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका डम्बरबहादुर विकसँग गाउँपालिका अध्यक्षमा पराजित भएका थिए।

रास्वपाका सुनार दैलेख निवासी हुन्। सामाजिक अभियन्ता सुनार बेला–बेलामा विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आइरहन्छन्। नेकपाका जीएम बैजनाथ निवासी हुन्। उनी कसैप्रति तुच्छ बोल्दैनन्।

एक लाख १७ हजार ३ सय ५४ मतदाता रहेको क्षेत्र नम्बर ३ मा मिश्रित बसोबास रहेको छ। चुनावको दिन नजिक–नजिक आइरहँदा जातीय, क्षेत्रीय र टुरिष्टजस्ता अभिव्यक्तिहरू सुनिन थालेका छन्। जसले चुनाव जितेपनि यो क्षेत्रका नयाँ अनुहार हुने छन्।

विगतका चुनावी नतिजाहरू हेर्दा एमाले र कांग्रेसको जनाधार बलियो देखिन्छ। यसपलिका विभिन्न घटनाक्रमले गर्दा ठ्याक्कै अनुमान लगाउन सक्ने अवस्था भने छैन। जसको लागि फागुन २१ नै कुर्नुपर्ने देखिन्छ।

प्रतिक्रिया